काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नुवाकोट समाज जापानले ९ लाख जापानी येन आर्थिक सहयोग गरेको छ।
नुवाकोट समाज जापानले जापानमा रहेका नेपाली समुदाय तथा सहयोगी जापानी नागरिकबीच सञ्चालन गरेको छोटो अवधिको राहत सहयोग अभियानमार्फत संस्थाको कोषमा रहेको रकमसहित विभिन्न व्यक्तिको सहभागिताबाट उक्त रकम संकलन गरेको हो।
संकलित ९ लाख जापानी येन बराबर नेपाली रुपैयाँ ८ लाख ५७ हजार ३ सय ४० रकम सरकारको आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको समाजले जनाएको छ।
समाजका अध्यक्ष ज्ञानेन्द्र पुडासैनीले अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ र योगदान गर्ने सल्लाहकार, कार्यसमिति सदस्य, समाजका सदस्य, सहयोगी दाता, जापानमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी र जापानी नागरिकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
उनले विपद्को समयमा प्राप्त सहयोगले बाढी–पहिरो प्रभावित परिवारमा आशा र हौसला थप्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
समाजले घाइतेहरूको यथाशीघ्र उपचार, बेपत्ताहरूको खोजी तथा प्रभावित परिवारका लागि राहत व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरेको छ।
नुवाकोट समाज जापानले बाढी–पहिरोमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना पनि प्रकट गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्