लोककल्याणकारी विज्ञापनको रकम सच्याउन दबाब, माग पूरा नभए छापा माध्यम आन्दोलनमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २०, शनिबार १९:०४



काठमाडौँ । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय सच्याउन माग गर्दै छापा माध्यमले सरकारमाथि दबाब बढाउने तयारी गरेका छन्।

नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाअन्तर्गत गठित छापा माध्यम बचाउ सुझाव कार्यदलले एक साताभित्र माग सम्बोधन नभए देशभरका प्रिन्ट मिडियालाई समेटेर आन्दोलन अघि बढाउने प्रस्ताव गरेको छ।


शनिबार बसेको कार्यदलको बैठकले दामोदरप्रसाद दवाडीलाई संयोजक चयन गर्दै महासंघसमक्ष सातबुँदे सुझाव पेस गरेको छ। नयाँ संशोधित कार्यविधिका कारण घटाइएको दरमा लोककल्याणकारी विज्ञापनको भुक्तानी स्वीकार नगर्न तथा त्यसअनुसारको बिल विज्ञापन बोर्ड वा सम्बन्धित हुलाक कार्यालयमा पेस नगर्न देशभरका छापा माध्यमलाई आह्वान गर्ने निर्णय बैठकले गरेको छ।


कार्यदलले सरकारी विज्ञापन वितरणमा देखिएको विभेद अन्त्य गर्नुपर्ने, लोककल्याणकारी विज्ञापनको कटौती गरिएको रकम साविककै कायम गर्नुपर्ने तथा राष्ट्रिय समाचार समिति (रासस) को बुलेटिन शुल्कमा गरिएको कटौतीसमेत तत्काल सच्याउनुपर्ने माग अघि सारेको छ।


माग सम्बोधनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सम्बन्धित सरकारी निकाय र राजनीतिक दलका नेताहरूसँग भेट गरी दबाब दिने तयारी कार्यदलले गरेको छ।


एक साताभित्र माग सम्बोधन नभए देशभरका छापा माध्यमलाई संगठित गरी भौतिक आन्दोलन अघि बढाउने चेतावनीसमेत कार्यदलले दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *