काठमाडौँ । प्रधानमन्त्री बालेनले भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकलाई राज्यले कहिल्यै अलपत्र नछोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नुवाकोटको विदुर–१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरेको घटनाले देशमा आशा जगाएको उल्लेख गर्दै प्रधानमन्त्री बालेनले खोज तथा उद्धार कार्य अझै निरन्तर रहेको बताएका हुन्।
प्रधानमन्त्री बालेनले बाढीका क्रममा चन्द्रिका श्रेष्ठको उमेर समूहका तथा त्योभन्दा माथिल्लो उमेरका धेरै आमाबुबाको उद्धार गरिएको बताए। कतिपय ज्येष्ठ नागरिकले आफ्ना नातिनातिनालाई च्यापेर ज्यान जोगाउन डाँडातिर भाग्नुपरेको र वृद्धाश्रममा रहेका आमाबुबासमेत बाढीबाट जोगिन भाग्नुपरेको उनले स्मरण गरेका छन्।
उनले बाढीले ज्येष्ठ नागरिकका घर, आँगन, खेतबारी, पशुपंक्षी तथा जीवनभरको कमाइ क्षणभरमै बगाएको भन्दै अहिले उनीहरू अस्थायी शिविरमा बस्न बाध्य भएको बताएका छन्।
प्रधानमन्त्रीका अनुसार नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका ७ जना ज्येष्ठ नागरिकलाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ। उनीहरूका लागि ह्वीलचियर तथा वाकरको व्यवस्था गर्नुका साथै स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्शसमेत उपलब्ध गराइएको उनले बताएका छन्।
अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर सुरक्षित स्थायी बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री बालेनले भनेका छन्, ‘हजुरहरूले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।’
बाढीले ज्येष्ठ नागरिकको ओत र जायजेथा बगाए पनि उनीहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनको महत्व समाप्त गर्न नसक्ने प्रधानमन्त्रीको भनाइ छ। उनले ज्येष्ठ नागरिकलाई देशका जग र मार्गदर्शकका रूपमा सम्मान गर्दै परिवारकै सदस्य सम्झेर सल्लाह र मार्गनिर्देशन दिन आग्रह गरेका छन्।
प्रधानमन्त्री बालेनले बाढीका क्रममा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आफन्त गुमाएका नागरिकको आक्रोश स्वाभाविक भएको बताएका छन्। पीडामा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने वा थप पीडा दिनेहरूविरुद्ध सरकार निर्मम हुने चेतावनीसमेत उनले दिएका छन्।
यस्तै, बाढीपछिको खोज तथा उद्धारमा निरन्तर खटिरहेका नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मीप्रति प्रधानमन्त्रीले उच्च सम्मान तथा कृतज्ञता व्यक्त गरेका छन्।
‘आदरणीय आमाबुबाहरू, हामीमाथि भरोसा राख्नुहोस्,’ प्रधानमन्त्री बालेनले भनेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्