नुवाकोट । बेलकोटगढी नगरपालिकाले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नगरवासीलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ।
आगामी नगर कार्यपालिकाको बैठकबाट अनुमोदन हुने गरी नगरपालिकाले बाढीपीडित परिवारलाई राहत, क्षतिग्रस्त कृषियोग्य जमिनका किसानलाई आर्थिक सहायता तथा विस्थापित परिवारको पुनःस्थापना र पुनर्वास प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
नगरपालिकाले सार्वजनिक गरेको निर्णयअनुसार बाढीका कारण घर पूर्ण रूपमा क्षति भई बस्न योग्य नभएका, परिवारका सदस्य गुमाएका तथा बेपत्ता भएका बेलकोटगढीका प्रभावित परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले तत्काल आर्थिक सहायता उपलब्ध गराइनेछ। प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री तथा अस्थायी आवासका लागि होल्डिङ सेन्टरको व्यवस्था समेत गरिएको नगरपालिकाले जनाएको छ।
त्यस्तै, बाढीका कारण खेतीयोग्य जग्गा वा जमिन बगेर अथवा पुरिएर क्षति पुगेका पीडित किसान परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले तत्काल राहत उपलब्ध गराइने निर्णय गरिएको छ।
बाढीबाट घर भत्किएर पूर्ण रूपमा क्षति भएका तर नयाँ घर निर्माणका लागि अन्यत्र जग्गा–जमिन नभएका अति विपन्न तथा विस्थापित परिवारको पहिचान गरी पुनःस्थापना तथा पुनर्वास प्रक्रिया अघि बढाउन नगरपालिकामार्फत सूचना आह्वान गरिने भएको छ।
उक्त निर्णयमा नगर प्रमुख भगत बहादुर गुरुङ, उपप्रमुख शिव प्रसाद दाहाल तथा प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर रहेकाे विज्ञप्तिमा नगरपालिकाले बुँदा नम्बर १ अन्तर्गतका बाढीपीडित परिवारको वास्तविक तथ्यांक तीन दिनभित्र सम्बन्धित वडाका वडाध्यक्ष र वडा सचिवमार्फत अनिवार्य रूपमा प्रमाणित गरी उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरेको छ।
भोटेकोशी–त्रिशूली बाढीबाट बेलकोटगढी नगरपालिका–८, ७ र ५ का बस्ती प्रभावित भएका छन्। वडा नं. ८ मा ६६ घर प्रत्यक्ष प्रभावित भएका छन् भने १३७ घरपरिवारको जग्गा–जमिनमा क्षति पुगेको छ। वडा नं. ७ मा करिब ७० घर प्रभावित भएका छन् भने केही खेतीयोग्य जमिनमा क्षति पुगेको छ। वडा नं. ५ मा भने खोलामा बालुवा निकाल्ने क्रममा बाहिरबाट आएका व्यक्तिहरू समेत प्रभावित भएका छन्।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्