नुवाकोट । विदुर नगरपालिकाले भदौ २४ गतेदेखि विद्यालय पुनः सञ्चालन गर्ने निर्णय गरेसँगै नगर प्याब्सन विदुरले पनि सोहीअनुसार विद्यालय सञ्चालनको तयारी अघि बढाएको छ।
त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण विद्यालय तथा विद्यार्थीको जनजीवनमा परेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै नगर प्याब्सन विदुरको बैठकले विद्यालय पुनः सञ्चालनसँगै विद्यार्थीहरूको मनोवैज्ञानिक अवस्थालाई विशेष प्राथमिकता दिने निर्णय गरेको अध्यक्ष रामराजा कुमालले नुवाकोट पुकारलाई जानकारी दिनुभयाे ।
बैठकको निर्णयअनुसार भदौ २४ र २५ गते विद्यार्थीहरूका लागि मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिनेछ। त्यसपछि सार्वजनिक बिदा समाप्त भएपछि भदौ ३१ गतेदेखि विद्यालयहरू नियमित रूपमा सञ्चालन गरिने नगर प्याब्सनले जनाएको छ।
बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको त्रिशूली सामुदायिक बोर्डिङ स्कुलका विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन विद्यालयलाई अर्को उपयुक्त स्थानमा अस्थायी रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। विद्यालय सञ्चालनका लागि आवश्यक फर्निचरसमेत प्याब्सनको सहयोगमा उपलब्ध गराइने निर्णय भएको छ।
त्यस्तै, त्रिशूली नदीपारिका विद्यार्थीहरूको पठनपाठन सहज बनाउन सुभेनियर बोर्डिङ, जे.डी. बोर्डिङ, अर्किड एकेडेमी र गणेश भ्यू लगायतका विद्यालयहरूको सहकार्यमा देविघाटस्थित पूर्व सामुदायिक विद्या मन्दिरको भवनमा अस्थायी सिकाइ केन्द्र (टेम्पोररी लर्निङ सेन्टर) सञ्चालन गरिने भएको छ।
बाढीका कारण नियमित रूपमा विद्यालयसम्म पुग्न कठिनाइ भएका विद्यार्थीलाई नजिकैबाट पठनपाठनको वातावरण उपलब्ध गराउने उद्देश्यले अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्न लागिएको नगर प्याब्सनले जनाएको छ।
यसैगरी, बाढीबाट प्रभावित निजी विद्यालयका विद्यार्थी तथा अभिभावकलाई राहतस्वरूप भर्ना शुल्क तथा IEMIS स्थानान्तरणको झन्झटबिना अस्थायी रूपमा विद्यार्थीलाई पायक पर्ने जुनसुकै निजी विद्यालयमा अध्ययन गर्न सक्ने व्यवस्था गरिएको छ।
यसका लागि प्रभावित विद्यार्थीका अभिभावकले आफ्ना नानीबाबु अध्ययनरत विद्यालय प्रशासनसँग सम्पर्क गरी विद्यार्थीलाई पायक पर्ने विद्यालयको विवरण उपलब्ध गराउनुपर्नेछ। त्यसपछि सम्बन्धित पक्षबीच समन्वय गरी विद्यार्थीको पठनपाठनलाई सहज बनाइने बताइएको छ।
नगर प्याब्सन विदुरले विपद्को कठिन परिस्थितिमा विद्यार्थीको शिक्षा निरन्तरता, मानसिक स्वास्थ्य तथा सुरक्षित सिकाइ वातावरणलाई प्राथमिकतामा राख्दै “विपद्का कारण शिक्षा रोकिनु हुँदैन” भन्ने भावनाका साथ विद्यालय तथा सम्बन्धित पक्षसँग समन्वय गरेर अघि बढ्ने जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्