
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले शिक्षकहरू माग सम्बाेधन गर्न सरकारले संसदमा पेश गरेकाे विधेयक संसाेधन गरेर सहमति कायम गर्नुपर्ने निश्कर्ष निकालेकाे छ ।
आज बसेकाे केन्द्रीय समितिकाे बैठकले यस्तो निश्कर्ष निकालेकाे हाे । कांग्रेसले अघिल्लो ऐन र कानुनी व्यवस्थाहरुका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्वपूर्ण बिषयहरु समेट्नु सुखद भएको तर कतिपय सन्दर्भमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लगायतको संविधानको मर्मलाई पूर्ण रुपमा आत्मसात गर्न सकेको नसक्नुका साथै विद्यालय शिक्षक र विद्यालय कर्मचारीहरुको जायज र उपयुक्त मागलाई समेत सम्बोधन गर्न नभएको निश्कर्ष निकालेको छ । बैठकले सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वाता हुनु सरकारात्मक भएको भन्दै यसलाई स्वागत गरेको । साथै बैठकमा वार्तामार्फत छिटो समाधान खोज्न पनि आग्रह गरेको छ ।
बैठकपछि पार्टी मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएकाे छ,नेपाल सरकारले संसदमा दर्ता गरेको “विद्यालय शिक्षा विधेयक” लाई लिएर मुलुकभरका शिक्षकहरु आन्दोलनमा उत्रिएको वर्तमान अवस्थामा सबै किसिमका जायज माग र भावनालाई शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान निकाल्न सकिन्छ भन्ने दृढ विश्वासका साथ सरकार र आन्दोलनरत पक्ष बीच भैरहेको वार्तालाई नेपाली कांग्रेस हार्दिक स्वागत गर्दछ ।
विद्यालय शिक्षाको विद्यमान अवस्था परिवर्तन गर्न र शिक्षक एवं विद्यालय कर्मचारीको बर्षौ देखिका समस्याहरु समाधान गर्न समयानुकूलको ऐन बहुप्रतिक्षित थियो । अघिल्लो ऐन र कानुनी व्यवस्थाहरुका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्वपूर्ण बिषयहरु समेट्नु एकातर्फ सुखद छ भने अर्कातर्फ कतिपय सन्दर्भमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लगायतको संविधानको मर्मलाई पूर्ण रुपमा आत्मसात गर्न सकेको छैन । साथै, विद्यालय शिक्षक र विद्यालय कर्मचारीहरुको जायज र उपयुक्त मागलाई समेत सम्बोधन गर्न नसकेको देखिन्छ । यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन÷संशोधन गर्न पर्ने विषयहरु छन् ।
संसदमा दर्ता भएको विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने प्रतिवद्धता समेत जाहेर गर्दै सरकार र आन्दोलनरत पक्षलाई सार्थक वार्ता र संवादबाट यथाशीघ्र समस्याको समाधान खोज्न र पठन–पाठन सुचारु हुने वार्तावरण निर्माण गर्न कार्यसमितिको यो बैठक अपिल गर्दछ ।
मुलुकको समग्र समुन्नतिको मार्गप्रशस्त गर्ने प्रारम्भिक थलो विद्यालयहरु नै हुन् । विद्यालय शिक्षामा सम्पुर्ण सुधार गर्दै शिक्षक र शिक्षण पेशालाई प्रतिष्ठित, मर्यादित र आकर्षक बनाउनु हामी सबैको दायित्व हो । यस दिशामा सबैको साझा प्रतिबद्धता र प्रतिबद्धता अनुरुपको भुमिकाका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक अपिल गर्दछ ।
सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता भएपनि सहमति भएको छैन । शिक्षकहरुले आज तेस्रो दिन पनि आन्दोलन जारी राखेको छन् । उनीहरुले विभिन्न १७ सुत्रीय माग अघि सारेका छन् । शिक्षकहरुले अघि सारेको माग मध्ये मुख्य रुपमा माध्यमिक तहको शिक्षालाई स्थानीय तहमार्फत सञ्चालन गर्ने विधेयको भावनाप्रति पूर्णत असहमति जनाएका छन् । यसमा सरकारले विधेयकलाई परिमार्जन गर्ने सहमति जनाए अन्य विषयमा लचक हुने सक्ने शिक्षक महासंघका प्रतिनिधिहरुले संकेत गरेका छन् ।