
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । विभिन्न चरणमा भएको आन्तरिक छलफलपछि पाण्डेले केही बेरअघि मात्रै आफ्नो उम्मेदवारी फिर्ता लिएका जनाएका हुन । उम्मेदवारी फिर्ता लिएपछि पाण्डेले आफूले अर्का प्रत्यासी कैलास ढुंगेललाई समर्थन गर्ने घोषणा पनि गरेका छन्
। यसअघि हिजो नै पाण्डेलाई उम्मेदवारी दर्ता गर्न रोक्नका लागि कोठाभित्रै थुनेर सहमतिको लागि भन्दै अवरोध गरेपछि पाण्डेको वारेसनामा लिएर गणेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका थिए । तर आज बिहान भने निर्वाचन मण्डलले पाण्डेको उम्मेदवारी नै कायम गरेको थिएन । यस विषयमा पनि पाण्डे समर्थकहरुले प्रतिवाद गरेपछि निर्वाचन मण्डलले उम्मेदवारी कायम गरेको थियो । तर त्यो पाण्डेले आफ्नो उम्मेदवारी फर्ता लिने निश्चित भएपछि मात्रै । अध्यक्षका अन्य चार उम्मेदवार कायम भने कायम रहेका छन् ।
निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर मतदान सञ्चालन गर्ने बताइएको छ । यो बीचमा सहमतिको प्रयास समेत जारी छ । एमालेमा नामाबली प्रकाशतदेखि उम्मेदवार बनाउने कल्टर समेत मिलाउन नसक्दा निर्वाचनको कार्यतालिका समेत प्रभावित भएको छ ।
आज साँझसम्म निर्वाचन हुने बताइएको छ । तर नेताहरुले निर्वाचन भन्दा पनि सहमतिको प्रयास जारी राखेकाले निर्वाचनका कार्यक्रमहरुलाई पछि धकेलिदै लगिएको प्रतिनिधिहरुको आरोप छ । एमाले अधिवेशन असोज ९ गते सुरु भएको थियो । दुई दिन भनेको अधिवेशन चारदिनसम्म पनि पूरा हुने छाँटाट नदेखिएपछि प्रतिनिधिहरु असन्तुष्ट हुँदै घर जाने तयारीमा समेत रहेका छन् । एक प्रतिनिधिले भने काठमाडौं आएको चार दिन भैसक्यो तर अझै मतदानको निश्चित भएको छैन । आज नभए भोलि घर गईन्छ ।
नुवाकोटबाट उपाध्यक्षमा उम्मेदवारी दिएका नारायण खतिवडा, उपसचिवमा ठाकुर गजुरेलले भने फिर्ता लिएका छैनन् । यस्तै प्रदेश सदस्यका लागि आधा दर्जनको उम्मेदवारी परेको छ । प्रदेशका लागि, ठाकुर पुडासैनी, सञ्जु पण्डित, केपी लामिछाने, पुर्णमान श्रेष्ठ, प्रल्हाद प्याकुरेलसहितले उम्मेदवारी दिएका छन् । यसैबीच महिला दुई खुल्ला सदस्यमा भने नुवाकोट बेलकोटगढीकी बिन्दा नेपाल र निर्मला खड्का निर्विरोध निर्वाचित भैसकेका छन् ।