काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। असोज ३ र ४ गतेदेखि वडा अधिवेशन सुरु हुनुअघि बोलाइएको बैठकमा सांगठनिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
बैठकमा १४औँ महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिका सदस्यहरूमध्ये हालको कार्यसमितिमा समायोजन गरिएका नेताहरू पनि सहभागी हुने भएका छन्। कांग्रेसले देउवानिकट ५१ निवर्तमान केन्द्रीय सदस्यलाई बैठकमा सहभागी हुन पत्र पठाएको जनाएको छ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि ती नेताहरूलाई मनोनीत केन्द्रीय सदस्यको हैसियतमा वर्तमान केन्द्रीय कार्यसमितिमा सहभागी गराउने निर्णय भएको कांग्रेसको भनाइ छ। त्यसअनुसार निवर्तमान सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’ र किशोरसिंह राठोरलगायत नेताहरू बैठकमा सहभागी हुने बताइएको छ।
कांग्रेसका सहमहामन्त्री उदयशम्शेर राणाका अनुसार विशेष महाधिवेशनबाट आएको कार्यसमिति र त्यसपछि सभापति गगन थापाले मनोनीत गरेका १४औँ महाधिवेशनका केन्द्रीय सदस्यबीच आज बैठक हुँदैछ। उनका अनुसार देउवानिकट ५१ नेता पनि बैठकमा सहभागी हुनेछन्।
यसअघि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई वर्तमान संरचनामा समायोजन गर्ने विषयमा निर्णय भएको थियो। देउवा पक्षका केही नेता भने यसबीचमा गृहजिल्ला पुगिसकेका छन्।
कांग्रेसले यसपटक केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने पुरानो व्यवस्था हटाएको छ। त्यसैले केन्द्रीय तहका नेताहरूले समेत महाधिवेशन प्रक्रियामा सहभागी हुन तल्लो तहको निर्वाचन प्रक्रियाबाट आउनुपर्ने अवस्था बनेको छ।
कांग्रेसको निर्धारित कार्यतालिकाअनुसार असोज ३ गतेदेखि वडा तहको अधिवेशन सुरु हुँदैछ भने केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्