नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै नुवाकोटमा संस्थापनइतर पक्षले छुट्टै सम्पर्क कार्यालय स्थापना गरेको छ ।
संस्थापनइतर पक्षले विदुर नगरपालिका–४ बट्टारमा सम्पर्क कार्यालय स्थापना गरेको हो । कार्यालय स्थापना गरिएको जानकारी कांग्रेस जिल्ला सचिव तथा संस्थापनइतर पक्षका नेता श्रीराम श्रेष्ठले दिनुभयो ।
कांग्रेसको १५औँ महाधिवेशनका लागि संस्थापन र संस्थापनइतर पक्षले फरक–फरक कार्यतालिका अघि सारेपछि दुवै पक्ष आ–आफ्नो तयारीमा जुटेका छन् । संस्थापनइतर पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरेको छ भने संस्थापन पक्षले असोज ३ गते वडा अधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ ।
यद्यपि, नुवाकोटमा वडा अधिवेशनको मिति भने अझै निश्चित भइनसकेको कांग्रेसका नेताहरूले बताएका छन् । केन्द्रमा दुई पक्षबीच फरक कार्यतालिका देखिएसँगै जिल्लामा पनि दुवै पक्षले आफ्नो तयारी अघि बढाएका हुन् ।
नुवाकोटमा संस्थापनइतर पक्षको नेतृत्वमा केन्द्रीय तहमा डा. प्रकाशशरण महत रहेका छन् भने जिल्लामा क्षेत्र नं २ मा ध्रुव अधिकारी, श्रीराम श्रेष्ठ, विन्दा अर्याल र १ मा अर्जुन न्याैपाने,धुर्व श्रेष्ठ कल्पना नेपाली लगायतका नेताहरू सक्रिय देखिएका छन् ।
संस्थापनइतर पक्षका जिल्ला सचिव श्रेष्ठका अनुसार नुवाकोटका ठूलो संख्यामा जिल्ला तहका नेता तथा कार्यकर्ताले असोज १५ गते हुने भनिएको वडा अधिवेशनमा सहभागी हुने जानकारी गराएका छन् । कार्यालय स्थापनासँगै वडा तहसम्म संगठनात्मक गतिविधि र अधिवेशन तयारीलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्