काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया केही समय स्थगित गरेर पार्टीभित्र एकताको प्रयास अघि बढाउन सभापति गगनकुमार थापालाई आग्रह गरेका छन्।
खड्काले विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापालाई सम्बोधन गर्दै सार्वजनिक गरेको अपिलमा असोज ३ गतेदेखि सुरु हुने महाधिवेशनको कार्यतालिका केही समयका लागि सार्न र पार्टीका शीर्ष नेताहरूसँग तत्काल संवाद सुरु गर्न आग्रह गरेका हुन्।
खड्काले आफू पार्टी एकताका लागि आवश्यक परे त्याग गर्न तयार रहेकोसमेत बताएका छन्। उनले आफूले राखेका माग तथा विगतका विवादलाई संवादमार्फत समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
उनको अपिलमा भनिएको छ, “असोज ३ गतेदेखि प्रारम्भ गर्ने गरी घोषणा गरिएको १५औँ अधिवेशनको कार्यतालिका स्थगन गरी केही समयका लागि सार्नुस्।”
त्यसैगरी खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग थापाले आफ्नै अग्रसरतामा तत्काल वार्ता र संवाद सुरु गर्नुपर्ने बताएका छन्। पार्टीको सम्पूर्ण एकता अझै सम्भव रहेको उनको दाबी छ।
खड्काले दुईवटा अलग–अलग महाधिवेशनको प्रक्रिया अघि बढे कांग्रेस विभाजनको अवस्था आउन सक्ने चिन्ता व्यक्त गरेका छन्। उनले पछिल्ला राजनीतिक घटनाक्रमले देशमा थप राजनीतिक तथा सामाजिक द्वन्द्वको जोखिम बढाउन सक्ने भन्दै राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र स्वाभिमानप्रति समेत चिन्ता व्यक्त गरेका छन्।
“सम्पूर्ण एकताको सिङ्गो कांग्रेसको सभापति बन्नुस्,” भन्दै खड्काले थापालाई निर्णायक र साहसिक कदम चाल्न आग्रह गरेका छन्।
उनले आफू कुनै महत्वाकांक्षाबाट मुक्त भएर पार्टी एकताका लागि जस्तोसुकै त्याग गर्न र इमानदार सहयोग गर्न तयार रहेको बताएका छन्।
यसअघि खड्कानिकट करिब ३१ जना नेताहरू गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा समाहित हुने र १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुने समाचार सार्वजनिक भएका थिए।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन भदौ २४ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ३ गते तथा केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यक्रम छ।
यता सभापति गगन थापाले भने महाधिवेशनको मिति कुनै पनि हालतमा नसर्ने बताउँदै आएका छन्। उनले संविधान, पार्टी विधान र अदालतको फैसलाका कारण निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन अघि बढ्ने स्पष्ट पारिसकेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्