काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्योति विकास बैंकको त्रिशूली शाखाको भवन पूर्णरूपमा क्षतिग्रस्त भएपछि बैंकिङ सेवा प्रभावित हुने भएको छ।
बैंकले सूचना जारी गर्दै त्रिशूली शाखाअन्तर्गतको सेवा सञ्चालन गर्न नसक्ने अवस्था आएपछि सोही शाखाअन्तर्गत रहेको त्रिशूली एक्सटेन्सन काउन्टरलाई अस्थायी रूपमा शाखा स्थानान्तरण गरी सञ्चालन गर्न लागेको जनाएको छ।
बैंकका अनुसार त्रिशूली एक्सटेन्सन काउन्टरलाई त्रिशूली शाखाको रूपमा २०८३ असोज ४ गते आइतबारदेखि सञ्चालन गरिनेछ। सोही प्रयोजनका लागि बैंकको प्रणालीमा डाटा माइग्रेसनसम्बन्धी कार्य गर्नुपर्ने भएकाले केही समय अनलाइन बैंकिङ सेवा प्रभावित हुने भएको हो।
बैंकले २०८३ असोज ३ गते शनिबार बेलुका १० बजेदेखि असोज ४ गते आइतबार बिहान ६ बजेसम्म सम्पूर्ण अनलाइन सिस्टम, मोबाइल बैंकिङ तथा कार्ड सेवा अवरुद्ध हुने जानकारी दिएको छ।
यस अवधिमा ग्राहकलाई पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गर्दै सेवा सुचारु भएपछि नियमित रूपमा बैंकिङ कारोबार गर्न सकिने जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्