काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीका लागि आयोजित बैठकमा सहभागी हुन रामेछापको मन्थली पुगेका कांग्रेस नेता भरत चौलागाईंलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।
सीआईबीले बिहीबार साँझ मन्थलीबाट चौलागाईंलाई नियन्त्रणमा लिएको हो। उच्च पदस्थ व्यक्तिहरूको नाम प्रयोग गरेर रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार रकम असुलीका विषयमा कुराकानी तथा डिल गरिएको भनिएको अडियोसमेत अनुसन्धानका क्रममा फेला परेको छ। प्रारम्भिक अनुसन्धानबाट केही प्रमाण प्राप्त भएपछि त्यसको सत्यापन र थप अनुसन्धानका लागि चौलागाईंलाई नियन्त्रणमा लिइएको उनले बताए।
चौलागाईं कांग्रेसको संस्थापन पक्षका नेता तथा पार्टीका महाधिवेशन प्रतिनिधि हुन्। १५औँ महाधिवेशनको तयारी बैठकमा सहभागी हुन मन्थली पुगेका बेला उनलाई सीआईबीले पक्राउ गरेको हो।
पक्राउपछि चौलागाईंलाई काठमाडौं ल्याई घटनाबारे थप अनुसन्धान गर्ने तयारी सीआईबीको छ। उच्च पदस्थ व्यक्तिको नाम प्रयोग गरी रकम मागिएको भनिएको विषयमा अडियोलगायतका प्रमाणको सत्यापन भइरहेको सीआईबीले जनाएको छ।
हालसम्म आरोप पुष्टि भइसकेको छैन। थप अनुसन्धान र प्रमाणको परीक्षणपछि घटनाको वास्तविकता खुल्ने सीआईबीले जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्