काठमाडौं । लोककल्याणकारी विज्ञापन प्रकाशनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकममा भारी कटौती गरिएको भन्दै नेपाल पत्रकार महासंघले असोज ५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले जारी गरेको ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ मार्फत विज्ञापनबापतको रकम कटौती गरिएको भन्दै महासंघले त्यसप्रति असहमति जनाउँदै आएको छ ।
उक्त कार्यविधि खारेज गर्न महासंघले भदौ २५ गते सूचना तथा सञ्चारमन्त्रीसमक्ष माग राखेको थियो । समस्या समाधान नभएसम्म विज्ञापनबापतको बिल नबुझ्न विज्ञापन बोर्डलाई भदौ २१ गते पत्राचारसमेत गरिएको महासंघले जनाएको छ ।
तर, आफ्ना मागप्रति सरकारले आवश्यक पहल नगरेको भन्दै महासंघका अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा शुक्रबार सरोकारवालासहित बसेको बैठकले तीन दिनभित्र माग सम्बोधन नभए असोज ५ गते सोमबारदेखि देशव्यापी आन्दोलनमा उत्रने निर्णय गरेको हो ।
महासंघका अनुसार महालेखापरीक्षकको कार्यालयले लोककल्याणकारी विज्ञापनसम्बन्धी रकममा बेरुजु नदेखाएको तथा प्रेस काउन्सिल नेपालले लोककल्याणकारी विज्ञापनको रकम हेरफेर तथा वृद्धिका सम्बन्धमा सिफारिस गरेको विषयलाई समेत आधार बनाएर समस्या समाधानका लागि शुक्रबार पुनः सञ्चारमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाइएको छ ।
महासंघले वार्ता र संवादमार्फत समस्या समाधान हुने विश्वास व्यक्त गरेको छ । माग सम्बोधन नभए बैठकको निर्णयअनुसार पहिलो चरणमा विभिन्न कार्यक्रमसहित देशव्यापी आन्दोलन गर्ने र त्यसमा महासंघ मातहतका समिति तथा सरोकारवालालाई सहभागी हुन आह्वान गरिएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा आन्दोलनमा सहभागी हुन सबै मातहतका समिति तथा सरोकारवालालाई आग्रह गरिएको छ ।
यसअघि नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, शाखाद्वारा वरिष्ठ पत्रकार दामोदर दवाडीकाे संयोजकत्वमा गठित छापा माध्यम बचाउ सुझाव कार्यदल र महासंघ केन्द्रीय समितिको संयुक्त बैठकले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारको निर्णयविरुद्धको आन्दोलनलाई थप व्यवस्थित र चरणबद्ध रूपमा अघि बढाउने निर्णय गरेको छ।
अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा बसेको बैठकले काठमाडौं शाखाले गठन गरेको छापा माध्यम बचाउ सुझाव कार्यदलको स्वामित्व केन्द्रीय समितिले लिने र कार्यदलका सुझाव ग्रहण गर्ने निर्णयसमेत गरेको छ। बैठकमा केन्द्रीय समिति, कार्यदल र काठमाडौं शाखाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्