सर्लाही । नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विषयलाई लिएर विवाद चर्किएको छ। पार्टीको केन्द्रीय नेतृत्वसँग असन्तुष्टि जनाउँदै जिल्ला कार्यसमितिका कार्यवाहक सभापति सरोजकुमारले पदसँगै नेपाली कांग्रेसको साधारण सदस्यतासमेत त्यागेका छन्।
केन्द्रीय सभापतिलाई सम्बोधन गर्दै बुझाएको राजीनामापत्रमा उनले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा क्रियाशील सदस्यता वितरण र नवीकरणका क्रममा पार्टीको विधि, प्रक्रिया तथा लोकतान्त्रिक मूल्य–मान्यताको पालना नभएको आरोप लगाएका छन्।
उनले कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराईले स्थापित गरेका राजनीतिक आदर्श र मान्यताबाट पार्टी विचलित हुँदै गएको दाबी गरेका छन्।
स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेका व्यक्तिहरूमाथि आवश्यक कारबाही गर्नुको सट्टा उनीहरूलाई क्रियाशील सदस्यता दिने तथा नवीकरण गर्ने काम भएको आरोप पनि उनले लगाएका छन्।
यस्ता गतिविधिले पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको भावनामा गम्भीर असर परेको उल्लेख गर्दै उनले पार्टीमा आफूले सम्हालेका सबै जिम्मेवारी तथा साधारण सदस्यताबाट समेत अलग हुने निर्णय गरेको बताएका छन्। उनले राजीनामा तत्काल स्वीकृत गर्न केन्द्रीय नेतृत्वसमक्ष आग्रह गरेका छन्।
यसैबीच, सर्लाही निर्वाचन क्षेत्र नम्बर २ (ख) का क्षेत्रीय सभापति भिखारी ठाकुरले पनि पद र साधारण सदस्यता दुवै त्यागेका छन्।
केन्द्रीय सभापतिलाई सम्बोधन गरिएको राजीनामापत्रमा ठाकुरले क्षेत्र नम्बर २ (ख) को क्रियाशील सदस्यता नामावली तयार पार्दा पूर्वाग्रही ढंगले प्रक्रिया अघि बढाइएको र नामावलीमा धाँधली भएको आरोप लगाएका छन्।
क्रियाशील सदस्यताको नामावली सार्वजनिक भएपछि आफूहरू आश्चर्यचकित भएको उल्लेख गर्दै उनले त्यसप्रति असन्तुष्टि जनाएका छन्। उनले पनि आजैदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी आफ्नो राजीनामा स्वीकृत गर्न माग गरेका छन्।
दुवै नेताको राजीनामासँगै सर्लाही कांग्रेसमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विषयले पार्टीभित्रको विवादलाई थप सतहमा ल्याएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्