महाधिवेशनको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै लिखुका निवर्तमान सभापति पाठकद्वारा राजनीतिक जीवनबाट अलग हुने घोषणा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १४, बुधबार ०७:४९

नुवाकोट । नेपाली कांग्रेस लिखु गाउँपालिकाका निवर्तमान सभापति विनोद पाठकले सक्रिय राजनीतिबाट अलग रहने घोषणा गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १३ गते सम्पन्न लिखु गाउँपालिका अधिवेशनपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पाठकले यस्तो घोषणा गरेका हुन्।


पाठकले अधिवेशन सम्पन्न गराउन सहयोग गर्ने क्षेत्रीय अधिवेशन प्रतिनिधि, निर्वाचन अधिकृतलगायत सबैलाई धन्यवाद दिँदै नवनिर्वाचित सभापति धनञ्जय उप्रेतीसहित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन्। आगामी कार्यकालमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्ना समर्थकहरूसँग समेत निराश हुनुपरेकोमा क्षमायाचना गरेका छन्।


उनले आफूले ‘अन्योल र अन्धकार राजनीतिक जीवनबाट अलग रहने निर्णय’ गरेको उल्लेख गर्दै राजनीतिबाट अलग रहे पनि समाजमा हुने बेथिति, विकृति र भ्रष्टाचारविरुद्ध खबरदारी जारी राख्ने बताएका छन्। लिखुका बासिन्दाको आर्थिक तथा सामाजिक रूपान्तरणको अभियानमा आफू निरन्तर सहभागी रहने उनको भनाइ छ।


पाठकको घोषणासँगै कांग्रेसको स्थानीय अधिवेशनमा देखिएको सहमति प्रक्रियालाई लिएर पार्टीभित्रको असन्तुष्टि पनि सतहमा आएको छ।

कांग्रेसका केही नेता–कार्यकर्ताले लामो समयदेखि संगठनमा सक्रिय रहेका तथा नेतृत्वसँग निकट नरहेका कार्यकर्तालाई सहमतिका नाममा नेतृत्व चयन प्रक्रियाबाट पाखा लगाइएको गुनासो गर्दै आएका छन्।


पाठक १४औँ महाधिवेशनमा पनि लिखु गाउँपालिकाको कांग्रेस सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए। उनलाई पार्टीभित्र सक्रिय वक्ता तथा संगठनमा लामो समय काम गरेका नेताका रूपमा बुझ्ने गरिएको छ ।


यसपटक लिखुमा सम्पन्न वडा अधिवेशनमा ६ वटै वडामा सभापति चयन भइसकेक छन् । पाठकको राजनीतिबाट अलग हुने घोषणाले कांग्रेस नुवाकोटको आन्तरिक राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ। विशेषगरी लामो समय संगठनमा सक्रिय रहेका स्थानीय नेताहरूको भूमिका, सहमतिका नाममा हुने नेतृत्व चयन र पार्टीभित्रको गुटगत सन्तुलनको विषय पुनः चर्चामा आएको छ।


पाठकले आफ्नो वक्तव्यको अन्त्यमा ‘समाज रूपान्तरण र लिखु बासीहरूको आर्थिक तथा सामाजिक रूपान्तरणको बहसमा मेरो शरीरले साथ दिइन्जेल अन्तिम लिखु बासीसँगै रहनेछु’ भन्ने सन्देश व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *