— नारायण नेपाल
गत भदौ १० गते आएको विनाशकारी प्राकृतिक प्रकोपलाई नेपाली सरकारी निकायलगायत विभिन्न माध्यमबाट ‘भोटेकोशी बाढी’ भनेर सम्बोधन गर्ने गरिएको छ। तर, के यस प्राकृतिक प्रकोपलाई ‘भोटेकोशी बाढी’ भन्नु नै सही हो? यो प्रश्न अब गम्भीर रूपमा उठाउनुपर्ने बेला आएको छ।
कुनै ठाउँ, भूगोल वा समुदायलाई होच्याउने, आरोप लगाउने अथवा मानौँ बाढी नै उसैले पठाएको हो भन्ने अर्थ लाग्ने गरी कुनै प्राकृतिक विपद्को नामकरण गर्नु हुँदैन। त्यसैले सरकारी निकायले समेत ‘भोटेकोशी बाढी’ भन्ने शब्दको प्रयोग तत्काल बन्द गर्नुपर्छ भन्ने मेरो स्पष्ट धारणा हो।
सबैभन्दा पहिले एउटा सामान्य प्रश्न गरौँ—कहाँ–कहाँ छ त्यो ‘भोट’? भोट हो कि बोत?
अर्को प्रश्न—कहाँ–कहाँ छ त्यो ‘कोशी’? कुन पूर्व किराँतको कोशी हो कि कौशिक ऋषिको कोशी हो?
हामीले महादेवले गणेशको टाउकोमा हात्तीको टाउको जोडेर गजमुन्टे गणेश बनाएको कथा सुन्दै आएका छौँ। त्यसैले यहाँ पनि विचारयोग्य प्रश्न छ—त्यो ‘भोट’ र ‘कोशी’ जोडिदिने महादेव को हो?
यो आरोप होइन। यो प्रश्न हो। प्राकृतिक प्रकोपको वास्तविक पहिचान, भूगोल, इतिहास, संस्कृति र वैज्ञानिक कारणबारे गम्भीर बहस सुरु गर्नुपर्ने आवश्यकता हो। तीन दिनसम्म आएको विनाशकारी जलप्रवाहलाई केवल ‘भोटेकोशी बाढी’ भनेर नामकरण गरेर हाम्रो खोजी पूरा हुँदैन। बरु प्रश्न गर्नुपर्छ—
तीन दिनसम्म कुन खोलामा बाढी आयो?
किन आयो?
त्यो ठाउँको वास्तविक नाउँ के हो?
कुन भूगोलबाट पानी आयो?
कुन प्राकृतिक प्रक्रियाले यति ठूलो विनाश निम्त्यायो?
यी प्रश्नको तथ्यपूर्ण उत्तर खोजिनुपर्छ।
हाम्रो भूगर्भ, भूगोल र स्थानीय संस्कृतिका विषयमा अझै धेरै कुरा अध्ययन र अनुसन्धानकै क्रममा छन्। त्यसैले अत्तोपत्तो नहुने भूगर्भ र संस्कृतिका विषयमा विज्ञहरूले धेरै धाक लगाउनु हुँदैन। तथ्य, अनुसन्धान र प्रमाणका आधारमा मात्र निष्कर्षमा पुग्नुपर्छ।
मेरो बुझाइमा यो सामान्य अर्थमा एउटा नदीमा आएको बाढी मात्र होइन।
यो लिरुङ हिमपहिरो र हिमप्रलय हो। दुई हजार वर्षयता यस्तो प्रकृतिको प्रलय भएको छैन भन्ने मेरो दाबी छ। त्यस अवधिमा बाढी र अन्य प्राकृतिक प्रकोपका घटना प्रशस्त भएका हुन सक्छन्, तर अहिले देखिएको प्रकृतिको प्रलयलाई पुरानै ढाँचामा ‘बाढी’ भनेर मात्र बुझ्नु पर्याप्त हुँदैन।
यो लेनदी खोलाको जलप्रलय हो।
त्यसैले यसलाई हतारमा ‘भोटे–कोशी’ भनेर जोडेर चिनाउनु उचित छैन। भोटे पनि होइन, कोशी पनि होइन। प्राकृतिक विपद्को नामकरण गर्दा त्यसले कुनै भूगोल, समुदाय, जाति वा संस्कृतिप्रति अनावश्यक आरोप वा गलत धारणा सिर्जना गर्छ कि गर्दैन भन्ने विषयमा राज्य र सम्बन्धित निकाय संवेदनशील हुनुपर्छ।
विपद्को वास्तविक कारण पत्ता लगाउने जिम्मेवारी राज्यको हो। त्यसका लागि भूगर्भविद्, जलविज्ञ, मौसमविद्, इतिहासकार, संस्कृतिविद् तथा स्थानीय जानकारबीच गम्भीर अध्ययन र अनुसन्धान हुनुपर्छ। नाम स्थापित गर्नेभन्दा पहिले घटनाको वास्तविक उत्पत्ति र प्रकृति स्थापित गर्नुपर्छ।
त्यसैले फेरि पनि मेरो स्पष्ट आग्रह छ—
‘भोटेकोसी’ शब्द प्रयोग बन्द गरौँ।
विपद्लाई सही नाम दिऔँ।
भूगोललाई सही रूपमा चिनौँ।
स्थानीय इतिहास र संस्कृतिको सम्मान गरौँ।
र प्राकृतिक प्रकोपको वास्तविक कारण तथ्य र अनुसन्धानका आधारमा खोजौँ।
लेखक : नेकपा बागमती प्रदेश सदस्य तथा त्रिविमा एमफिल शोधार्थी/ शोधकर्ता /हुने
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्