नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नुवाकोट क्षेत्र नं. १ बाट खुला महिला केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा अञ्जु आचार्यले उम्मेदवारी दिने भएकी छन्।
दुप्चेश्वर गाउँपालिकाको पूर्व उपाध्यक्षसमेत रहेकी आचार्य कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय महिला नेतृ हुन्। उनी दुप्चेश्वर गाउँपालिकाको पहिलो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। २०७४ को निर्वाचनमा उनले ३ हजार ९४३ मत प्राप्त गर्दै उपाध्यक्ष पद जितेकी थिइन्।
२०७९ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी आचार्यले ३ हजार ६३५ मत प्राप्त गरेकी थिइन्।
स्थानीय तहको जनप्रतिनिधिका रूपमा काम गरिसकेकी आचार्यले कांग्रेसको जिल्ला समितिमा रहेरसमेत जिम्मेवारी निर्वाह गरिसकेकी छन्। स्थानीय शासन, संगठन र जनप्रतिनिधिका रूपमा काम गरेको अनुभवलाई आधार बनाउँदै उनी यसपटक पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेकी हुन्।
उनको उम्मेदवारी घोषणासँगै ‘उद्यमशील, प्रभावशाली, सबैलाई समेटेर लैजान सक्ने महिला नेत्री’ का रूपमा आफूलाई प्रस्तुत गरेकी छन्। प्रचार सामग्रीमा उनले कांग्रेसमा सबैको आवाज, पार्टी एकता, समावेशिता, समानता तथा सामाजिक न्याय र महिला, युवा एवं आमजनताको सशक्तीकरणलाई प्राथमिकतामा राखेकी छन्।
आचार्यले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणासँगै कांग्रेसको विचार र संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनको प्रचार सामग्रीमा सभापतिका रूपमा गगन थापाको नेतृत्वलाई समर्थन गर्दै कांग्रेसमा विचारमा लोकतन्त्र र व्यवहारमा समावेशिताको नारासमेत अघि सारिएको छ।
नुवाकोट क्षेत्र नं. १ बाट उनको उम्मेदवारीले कांग्रेसको महाधिवेशनमा महिला नेतृत्व र प्रतिनिधित्वको विषयलाई समेत थप उत्साह ल्याएको कतिपय प्रतिनिधिले बताएका छन् ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्