शेखर पक्षका नेता–कार्यकर्ता देउवा समूहको वडा अधिवेशनमा सहभागी हुने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १४, बुधबार १५:४१

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला तटस्थ बसे पनि उनीनिकट नेता–कार्यकर्ता भने पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गर्न लागेको अधिवेशन प्रक्रियामा सहभागी हुने भएका छन्।


देउवा समूहले बिहीबारदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ। शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कोइराला स्वयं तटस्थ रहने भए पनि उनीनिकट नेता–कार्यकर्तालाई आफ्नो विवेकअनुसार अधिवेशन प्रक्रियामा सहभागी हुन रोक नरहेको बताएका छन्।


देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोख्रेलले बिहीबारदेखि शनिबारसम्म वडा अधिवेशन सम्पन्न गर्ने गरी जिल्ला निर्वाचन समितिहरूलाई निर्देशन दिइएको जानकारी दिएका छन्।


शेखर कोइराला भने कांग्रेसभित्र देखिएको विभाजन अन्त्य गरी सहमतिका आधारमा महाधिवेशन हुनुपर्ने पक्षमा रहँदै आएका छन्। उनी कुनै पनि पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने तटस्थ भूमिकामा छन्।


यसबीचमा कोइरालानिकट विभिन्न नेता–कार्यकर्ता भने अलग–अलग अधिवेशन प्रक्रियामा सहभागी हुने तयारीमा देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *