बेलकोटगढीमा १५० अस्थायी आवास निर्माणको अन्तिम चरणमा, बाढीपीडित परिवारलाई दशैँअघि राहत
नुवाकोट । भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित परिवारको पुनःस्थापनाका लागि योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिका–७, महादेवफाँटमा निर्माण गरेका अस्थायी आवासमध्ये पहिलो चरणमा २० वटा घर हस्तान्तरण गरेको छ।
वाईसीएल नेपाल केन्द्रीय समितिद्वारा आयोजित ‘भोटेकोसी–त्रिशूली बाढीपीडित परिवारका लागि पहिलो चरणको अस्थायी आवास हस्तान्तरण कार्यक्रम–२०८३’ अन्तर्गत नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज २७ गते ती आवास हस्तान्तरण गरेका हुन्।
वाईसीएलका अनुसार बाढीपीडित परिवारका लागि निर्माण भइरहेका डेढ सय अस्थायी आवासमध्ये २० वटा पूर्ण रूपमा तयार भइसकेका छन् भने बाँकी आवास निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आवास हस्तान्तरणसँगै प्रभावित परिवारलाई सुरक्षित बसोबासको व्यवस्था मिल्ने र चाडपर्वका बेला उनीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
वाईसीएलका केन्द्रीय अध्यक्ष पुष्प वलीका अनुसार बाढीबाट प्रभावित परिवारलाई पीडाबाट सामान्य जीवनमा फर्काउने उद्देश्यले जस्ताको छाना र जस्ताकै भित्ता भएका दुईकोठे अस्थायी आवास निर्माण गरिएको हो। प्रत्येक आवाससँगै शौचालयको व्यवस्था पनि गरिएको छ।
अस्थायी आवास निर्माणको नेतृत्व वाईसीएलका केन्द्रीय उपाध्यक्ष हरि ढकालले गरेका थिए। उनका अनुसार दाताबाट प्राप्त निर्माण सामग्री र प्राविधिक सहयोगमा आवास निर्माण गरिएको हो। एउटा आवास निर्माणमा अनुमानित चार लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए।
आवास निर्माणका लागि देशभरबाट करिब १० हजार स्वयंसेवक परिचालन गरिएको वाईसीएलले जनाएको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका काममा स्वयंसेवक खटिएका थिए। आवास निर्माण, सरसफाइ, उद्धार, राहत तथा पुनर्निर्माणका काममा संगठनका ६०० भन्दा बढी नेता तथा कार्यकर्ता सक्रिय रहेको वाईसीएलका प्रचार विभाग प्रमुख धिरज उपरकोटीले बताए।
वाईसीएलले आवास निर्माणसँगै प्रभावित परिवारलाई खाद्यान्न, खाना पकाउने ग्यास, त्रिपाल, औषधि, लत्ताकपडा, सोलार बत्ती तथा मोबाइललगायत अत्यावश्यक सामग्रीसमेत वितरण गरेको जनाएको छ। प्रभावित नागरिकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले ११ जनाको सहभागितामा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।
आवास हस्तान्तरण कार्यक्रममा नेकपाका संयोजक दाहालसहित नेता हितबहादुर तामाङ, राधिका तामाङ, हिरानाथ खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम ठकुरी, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङलगायत नेकपाका नेता तथा कार्यकर्ताको सहभागिता थियो।
बाढीबाट घरबार गुमाएका परिवारले नयाँ अस्थायी आवास पाएसँगै आगामी दिनमा सुरक्षित रूपमा बसोबास गर्न पाउने भएका छन्। दशैँको मुखमा आवास हस्तान्तरण भएपछि प्रभावित परिवारलाई चाडपर्व मनाउन सहज हुने र उनीहरूमा खुसी थपिने अपेक्षा गरिएको छ।नुवाकोटमा आवास हस्तान्तरण कार्यक्रम सम्पन्न गरेपछि नेकपाका संयोजक दाहाल रसुवातर्फ प्रस्थान गरेका छन् ।


नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्