नुवाकोट। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नुवाकोटको पिपलटारमा बाढी प्रभावित १८ परिवारलाई निर्माण गरिएका अस्थायी आवास हस्तान्तरण गरेका छन्।
एमाले निकट मजदुर संगठन जिफन्टको नेतृत्वमा निर्माण गरिएका अस्थायी आवास बुधबार अध्यक्ष ओलीले प्रभावित परिवारलाई हस्तान्तरण गरेका हुन्। बाढीबाट घरबारविहीन भएका परिवारलाई अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाउने उद्देश्यले आवास निर्माण गरिएको हो।
निर्माण गरिएका प्रत्येक अस्थायी आवासमा शौचालय, बिजुली र पानीलगायतका आधारभूत सुविधाको व्यवस्था गरिएको छ। आवास निर्माण अभियानमा जिफन्टका विभिन्न स्वयंसेवक सहभागी भएका थिए।
यसअघि नेकपाले पनि नुवाकोटको महादेवफाँटमा निर्माण गरेका अस्थायी आवास बाढीपीडित परिवारलाई हस्तान्तरण गरेको थियो।
गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटमा २७ सयभन्दा बढी परिवार घरबारविहीन भएका छन्। बाढीले घर तथा भौतिक संरचनामा क्षति पुर्याउँदा प्रभावित परिवारको बसोबासमा समस्या भएको छ।
संघीय सरकारले बाढीपीडितका लागि स्थायी आवासको व्यवस्था गर्ने विषयमा पहल गरिरहेको भए पनि अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन। स्थायी आवासको टुंगो नलाग्दा प्रभावित परिवार अस्थायी बसोबासको भरमा रहन बाध्य छन्।
यस अवस्थामा राजनीतिक दलहरूले विभिन्न स्थानमा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गर्न थालेपछि घरबारविहीन परिवारलाई तत्कालका लागि बसोबासको राहत पुगेको छ। यद्यपि, बाढीपीडितको दीर्घकालीन समस्या समाधानका लागि स्थायी आवास पुनर्निर्माण र पुनःस्थापनाको व्यवस्था आवश्यक देखिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्