नेकपाले दुईमहिने जागरण अभियान आजदेखि सुरु

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक ८, शनिबार ०९:१७

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको तयारी, सङ्गठन सुदृढीकरण र सरकारका कामको विरोधमा जनमत निर्माण गर्ने उद्देश्यसहित दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकको निर्णयअनुसार आज कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको हो ।

नेकपाका केन्द्रीय कार्यालय सचिव गणेशमान पुनका अनुसार अभियान आगामी निर्वाचन, पार्टी महाधिवेशन, सङ्गठन सुदृढीकरण, जनजीविकाका सवाल, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षालगायतका विषयमा केन्द्रित हुनेछ ।

पार्टीले असोज २५ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा राष्ट्रिय महाधिवेशन, स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको तयारी र सरकारले गरेका जनविरोधी क्रियाकलापविरुद्ध आन्दोलनको तयारीका रूपमा अभियान सञ्चालन गरिने उल्लेख गरेको छ ।

नेकपाको सूचना तथा सञ्चारप्रविधि विभागका उपप्रमुख सुरेन्द्र बस्नेतका अनुसार जागरण अभियान पार्टीलाई जनतातिर फर्काउने उद्देश्यले सञ्चालन गर्न लागिएको हो । अभियानमार्फत सङ्गठन सुदृढीकरण, स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको तयारी, महाधिवेशनको तयारी र विपद् प्रभावित क्षेत्रमा पुनर्स्थापनाका काममा पार्टी केन्द्रित हुनेछ ।

अभियानमा केन्द्रदेखि स्थानीय तहसम्मका पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता परिचालित हुने बस्नेतले बताएका छन् ।

पेरिसडाँडामा पत्रकार सम्मेलन, नेताहरूलाई जिल्लाको जिम्मेवारी

अभियानको सुरुवात र कार्यक्रमबारे जानकारी दिन नेकपाले आज दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरेको छ । कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताले अभियानबारे जानकारी दिनेछन् ।

अभियानका क्रममा केन्द्रीय संयोजन समितिका सदस्यहरूलाई विभिन्न जिल्लाको समन्वय गर्ने जिम्मेवारी दिइएको छ । उनीहरूलाई आफू मतदाता रहेको प्रदेशमा खटाइएको पार्टीले जनाएको छ ।

सम्बन्धित प्रदेशका पार्टी समितिसँग समन्वय गर्दै जिल्लास्तरका समितिसँग नियमित सम्पर्क, मार्गदर्शन र अनुगमन गर्ने तथा राष्ट्रिय जागरण अभियान, सङ्गठन सुदृढीकरण र पार्टीका अन्य कार्यक्रम अघि बढाउने जिम्मेवारी उनीहरूलाई दिइएको छ ।

यस्ता छन् जागरण अभियानका मुख्य कार्यक्रम

नेकपाका अनुसार अभियानअन्तर्गत पार्टी समितिहरू तथा जनवर्गीय र मोर्चा सङ्गठनहरूको समायोजनसम्बन्धी बाँकी काम सम्पन्न गरिनेछ । सङ्गठित सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तीव्र बनाइनेछ भने पार्टीका बैठक, भेला र प्रशिक्षण सञ्चालन गरिनेछ ।

जनता र पार्टीबीचको सम्बन्ध प्रगाढ बनाउन जनताकेन्द्रित तथा सांस्कृतिक र रचनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । जनताका माग र दैनिक जनजीविकासँग सम्बन्धित मुद्दा सङ्कलन गरी सम्बन्धित निकायमा पेस गर्ने र कार्यान्वयनका लागि पहल गर्ने योजना पनि पार्टीले बनाएको छ ।

त्यस्तै, श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गर्ने, विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काममा सहयोग गर्ने तथा राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन र जनजीविकाका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

अभियानका क्रममा महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताका अन्य समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइनेछ । यसका लागि केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा अन्य सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र पेस गरिने पार्टीले जनाएको छ ।

अभियानका कार्यक्रम स्थानीय वस्तुस्थिति, जनताको आवश्यकता र सम्बन्धित तहको निर्णयअनुसार लचिलो ढङ्गले सञ्चालन गरिने नेकपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *