भोटेकोशी बाढीमा उत्कृष्ट काम गर्ने नुवाकोटका प्रहरी सम्मानित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक ९, आईतवार १९:४३

नुवाकोट । विपद्का समयमा उद्धार, राहत तथा व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोट सम्मानित भएको छ।


प्रहरी दिवसका अवसरमा विपद्को समयमा उत्कृष्ट कार्य गरेको योगदानको कदर गर्दै नुवाकोटका प्रहरी प्रमुख विपिन रेग्मी र प्रहरी सहायक निरीक्षक पवन बस्नेत सम्मानित हुनुभएको हो।


यसैगरी जिल्ला प्रहरी कार्यालय नुवाकोटले असोज महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रहरी हवल्दार ठगेन्द्रबहादुर पाण्डे (दीपक) लाई ‘उत्कृष्ट प्रहरी’को प्रमाणपत्रसहित सम्मान गरेको छ।
गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण नुवाकोटको बेत्रावती, त्रिशूली, ढुंगे, देवीघाट, महादेवफाँटलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको थियो। बाढीका कारण कतिपय नागरिकले ज्यान गुमाउनुका साथै बस्ती, घर तथा जग्गाजमिनमा समेत व्यापक क्षति भएको थियो।


विपद्का बेला प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा खोजी कार्य, जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण, राहत व्यवस्थापन तथा विपद्पछिको अवस्थालाई सामान्य बनाउन प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।


बाढीपछि प्रभावित नागरिकको उद्धारदेखि सुरक्षासम्म निरन्तर सक्रिय रहेर प्रहरीले स्थानीय प्रशासन तथा अन्य निकायसँग समन्वय गर्दै पुनःस्थापना प्रक्रियामा समेत सहयोग पुर्‍याएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *