नुवाकोट । गत भदौ १० गते भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण विस्थापित भएका रसुवाका ९८ बालबालिकाको शिक्षामा नुवाकोटको गुडविल एकेडेमीले महत्वपूर्ण सहयोग गरेको छ ।
विदुर नगरपालिका–५ स्थित गुडविल एकेडेमीले रसुवाको उत्तरगया गाउँपालिका–१ खाल्टेबाट विस्थापित भएर आएका ४४ बालक र ५४ बालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाएको हो। कक्षा १ देखि ९ सम्म अध्ययनरत उनीहरूलाई विद्यालयमा अध्ययनरत रहँदासम्म निःशुल्क पठनपाठन गराउने व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक रामराजा कुमालले जानकारी दिए।
बाढीका कारण घरबास गुमाएका तथा आर्थिक–सामाजिक समस्याबाट गुज्रिरहेका परिवारलाई बालबालिकाको शिक्षामा थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले विद्यालयले निःशुल्क शिक्षाको व्यवस्था गरेको प्रधानाध्यापक कुमालले बताए।
“बाढीका कारण विस्थापित भएका बालबालिकाको शिक्षामा अवरोध नहोस् र अभिभावकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले निःशुल्क पढाउने व्यवस्था गरेका हौँ,” कुमालले भने।
उनका अनुसार निजी विद्यालयले पनि विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित परिवारलाई सहयोग गर्न सक्छन् भन्ने सन्देश दिन विद्यालयले यो पहल गरेको हो।
विद्यालयको क्षमता करिब ४०० विद्यार्थीको भए पनि विस्थापित बालबालिकासमेत भर्ना भएपछि हाल ४५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी सङ्ख्या बढेसँगै कक्षाकोठा तथा अन्य भौतिक संरचनाको व्यवस्थापनमा चुनौती थपिएको विद्यालयले जनाएको छ।
थप विद्यार्थीलाई सहज रूपमा पठनपाठन गराउन विद्यालयले जग्गा भाडामा लिएर आवश्यक भौतिक संरचना निर्माण गर्ने तयारीसमेत गरेको प्रधानाध्यापक कुमालले बताए।
यस अभियानमा नुवाकोट प्याब्सनको समेत महत्वपूर्ण भूमिका रहेको विद्यालयले जनाएको छ। भदौ १० गतेको बाढीपछि प्रभावित परिवार, विद्यार्थी र विद्यालयको अवस्थाबारे नुवाकोट प्याब्सनले निरन्तर चासो दिँदै आएको थियो। प्याब्सन नुवाकोट र गुडविल एकेडेमीको प्रत्यक्ष सहकार्यका कारण बाढीबाट प्रभावित बालबालिका शिक्षाको अवसरबाट वञ्चित हुन नपरेको सरोकारवालाले बताएका छन्।
प्रभावित विद्यार्थीलाई विद्यालयमा ल्याएर निरन्तर शिक्षा प्रदान गर्ने पहलप्रति अभिभावक, विद्यार्थी तथा अन्य विद्यालयका सरोकारवालाले नुवाकोट प्याब्सन र गुडविल एकेडेमीप्रति खुशी व्यक्त गरेका छन्।
त्यस्तै, केन्द्रीय प्याब्सनले पनि विपद्बाट प्रभावित विद्यालय तथा शिक्षकलाई आर्थिक सहयोग उपलब्ध गराएको जनाइएको छ।
विपद्का कारण घरबास गुमाएका परिवारका बालबालिकाको शिक्षालाई निरन्तरता दिन विद्यालय, प्याब्सन, स्थानीय तह तथा अन्य सरोकारवाला निकायबीचको सहकार्य आवश्यक रहेको सरोकारवालाको भनाइ छ।
बाढीले भौतिक संरचना र परिवारको जीवनमा ठूलो क्षति पुर्याए पनि प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिने गुडविल एकेडेमी र नुवाकोट प्याब्सनको पहलले विपद्को समयमा शिक्षा क्षेत्रले निर्वाह गर्न सक्ने सामाजिक उत्तरदायित्वको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्