नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बेलकोटगढी नगरमा दुवै पक्षबाट नगर अधिवेशन सम्पन्न भएपछि निर्वाचित नगर कार्यसमितिहरूले संगठनात्मक गतिविधि अघि बढाउन थालेका छन्।
नियमित पक्षधर नेपाली कांग्रेसले बुधबार बेलकोटगढीमा नगर अधिवेशन सम्पन्न गरेको थियो। अधिवेशनमा कांग्रेसका युवा नेताहरूको नेतृत्वमा पार्टीका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
यसैबीच संस्थापनपक्षबाट निर्वाचित प्रल्हाद प्रसाद थपलियाको नेतृत्वमा निर्वाचित बेलकोटगढी नगर कार्यसमितिले पहिलो बैठक आह्वान गरेको छ। नगर सभापतिमा निर्वाचित भएपछि थपलियाले नगर कार्यसमितिको पहिलो बैठक बोलाएका हुन्।
बैठक २०८३ कात्तिक १५ गते आइतबार बिहान ११ बजे बेलकोटगढीको बाघखोरमा आयोजना गरिएको नगर सभापति थपलियाले जनाएका छन्।
बैठकमा नगर कार्यसमितिका पदाधिकारी तथा सदस्य, वडा सभापति, महाधिवेशन प्रतिनिधि, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा १५औँ महाधिवेशनमा बेलकोटगढी नगरभित्रबाट विभिन्न पदमा निर्वाचित र प्रत्यासी बनेका नेता–कार्यकर्तालाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकमा नगरको आगामी संगठनात्मक गतिविधि, पार्टी संरचनालाई प्रभावकारी बनाउने तथा महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई संस्थागत रूपमा अघि बढाउने विषयमा छलफल हुने बताइएको छ।
बेलकोटगढीमा १५औँ महाधिवेशनअन्तर्गत अलग–अलग पक्षबाट नगर अधिवेशन सम्पन्न भएपछि दुवै पक्षले आफ्ना संगठनात्मक गतिविधिलाई तीव्रता दिएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्