
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा रहेको प्रशिद्ध धार्मिक तथा ऐतिहासिक क्षेत्र चिम्टेश्वर विकास समिति गठन भएको छ । बेलकोटगढी नगरपालिकाको कार्यपालिका बैठकबाट समिति गठन गर्ने निर्णयसँगै यसको अध्यक्षको जिम्मेवारी बेलकोटगढी २ का वडाअध्यक्ष रामचन्द्र तिमिल्सिना लाई प्रदान गरिएको छ । यस्तै समितिको संरक्षक नगर प्रमुख जगत लामा र सल्लाहकारमा उपप्रमुख शिव प्रसाद दाहाल रहने गरि नगरपालिका बैठकले निर्णय गरेको नगर मेयर जगत लामाले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

चिम्टेश्वरमा रहेको भ्यु टावर
बेलकोटगढी नगरपालिकालाई नेपालभरि चिनाउने र आन्तरिक तथा बाह्र पर्यटक भित्र्याउने उदेश्यकासाथ समिति गठन गरेर यसको प्रचार प्रसार थालिएको उपमेयर शिव दाहलाले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । बेलकोटगढीको माथिल्लो भेगमा रहेको चिम्टेश्वर धार्मिक तथा ऐतिहासिक रुपले निकै प्रख्यात रहेको छ । पछिल्लो समय उक्त क्षेत्रमा आन्तरिक पर्यटकहरु समेत घुम्न तथा मन्दिर दर्शनका लागि जाने गरेका छन् ।
यस अघि मेयर राजेन्द्ररमण खनालको नेतृत्वमा रहेको नगरपालिकाले भ्यु टावर बनाएको िथयो । उक्त टावरबाट जिल्ला सदरमुका विदुरसहितका अन्य क्षेत्रहरुको दृष्य समेत स्पष्टसँग देखिने भएकाले पर्यटकहरुले फोटो लिएर समेत मनोरञ्जन लिँदै आएको छन् । उक्त क्षेत्रको महत्व र यसको सम्भाव्यताबारे चिनाउन सके सिंगो बेलकोटगढीको विकासमा महत्वपूर्ण योगदान पुग्ने स्थानीयहरुले समेत बताएका छन् । एक स्थानीयले भने यो सारै राम्रो काम भयो, अब निर्णय कार्यान्वय गरेर अघि बढ्न सके बेलकाटगढीको विकासमा महत्वपूर्ण योगदान पुग्नेछ ।