नुवाकोटमा नेपाली कम्युनिष्ट पार्टीको संगठन सुदृढीकरण अभियान तीव्र बनाउने निर्णय

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १६, सोमबार ०५:४२

नुवाकोट । नेपाली कम्युनिष्ट पार्टी नुवाकोट जिल्ला समितिले जिल्लाका सबै वडामा पार्टी संगठन सुदृढीकरण तथा विस्तारको कामलाई तीव्रता दिने निर्णय गरेको छ। जिल्ला समितिको पहिलो बैठकले वडा कमिटीको समायोजन तथा पुनर्गठनसँगै पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र संगठन विस्तारलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको हो।


जिल्ला समितिका संयोजक पुरुष लामिछानेको अध्यक्षतामा तथा सह–इन्चार्ज बसन्त बस्नेतको सञ्चालनमा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज गंगालाल तुलाधर प्रमुख अतिथिका रूपमा सहभागी थिए।


बैठकमा पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह–इन्चार्ज एवं पूर्वमन्त्री हितबहादुर तामाङ, जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य क. राजेन्द्रप्रकाश लोहनी, केन्द्रीय सदस्यहरू विमला सुवेदी, . हिरानाथ खतिवडा, . बसन्त बस्नेत, . पुरुष लामिछाने, गोविन्द नेपालीलगायत नेताहरूको उपस्थिति रहेको थियो।


बैठकले नेपाली कम्युनिष्ट पार्टी गठनपछि जिल्लाका सबै पालिकामा समायोजनको काम सम्पन्न भइसकेकाले अब वडा तहमा संगठनात्मक गतिविधिलाई तीव्र बनाउने निर्णय गरेको छ। वडा कमिटीको समायोजन तथा पुनर्गठन, सदस्यता नवीकरण, नयाँ सदस्यता प्रदान र पार्टी विस्तारका काम तत्काल अघि बढाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।


त्यस्तै, पार्टी केन्द्रले घोषणा गरेको राष्ट्रिय जागरण अभियान नुवाकोटमा समेत सुरु भएको घोषणा गर्दै निर्धारित समयभित्र अभियान सम्पन्न गर्ने गरी कार्यविभाजन र कार्ययोजनाअनुसार अघि बढ्ने निर्णय बैठकले गरेको छ।


बैठकले आगामी स्थानीय निर्वाचनलाई समेत लक्षित गर्दै वडा कमिटीहरूलाई थप सक्रिय र चलायमान बनाउने निर्णय गरेको छ। स्थानीय तहसम्म पार्टी संगठनलाई व्यवस्थित गर्दै निर्वाचन केन्द्रित गतिविधि अघि बढाउने विषयलाई समेत बैठकले प्राथमिकतामा राखेको जनाएको छ।


यसैबीच, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नुवाकोट र रसुवामा भएको जनधनको क्षतिप्रति बैठकले दुःख व्यक्त गरेको छ। बाढीमा परी ज्यान गुमाउने पार्टीका नेता–कार्यकर्ता, स्थानीय बासिन्दा तथा अन्य जिल्लाबाट आएका नागरिकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा सहानुभूति व्यक्त गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणका काममा पार्टीका नेता–कार्यकर्ता, स्थानीय कमिटी, निर्वाचित जनप्रतिनिधि तथा वाईसीएललगायत जनसंगठनलाई निरन्तर परिचालन गर्ने निर्णय गरिएको छ।


बाढी प्रभावित तथा विस्थापित परिवारको राहत र पुनःस्थापनाको काम सन्तोषजनक नभएको भन्दै बैठकले पीडित तथा घरबारविहीन नागरिकको तत्काल पुनःस्थापना र क्षतिपूर्तिका कार्यक्रम अघि बढाउन सम्बन्धित सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ।
बैठकले बाढीका कारण पार्टीका बागमती प्रदेश समिति सदस्यहरू नवराज नेपाल र पाल्देन तामाङ, जिल्ला सल्लाहकार . हिमालय पौडेल, जिल्ला समिति सदस्य सूर्यबहादुर तामाङ, शिक्षक संगठनका नेता गोविन्द लामिछाने तथा पार्टीका अन्य नेता . सुनिल थापा, उमा पौडेल र मोतीलाल तामाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।


बैठकपछि जारी विज्ञप्तिमा संगठन सुदृढीकरण, राष्ट्रिय जागरण अभियान, बाढी प्रभावितको राहत–पुनःस्थापना तथा आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै वडा तहसम्म पार्टी गतिविधि थप प्रभावकारी बनाउने निर्णय गरिएको उल्लेख छ।

यसअघि जिल्ला पदाधिकारीलाई शपथ ग्रहण गराइएको थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *