नुवाकोट । भदौ १० गते आएको भोटेकोशी बाढीका कारण तारकेश्वर गाउँपालिका–२ स्थित तारुकाघाटको पुल बगाएपछि त्रिशूली नदी वारपार गर्न समस्या झेल्दै आएका स्थानीयवासीका लागि झोलुङ्गे पुल निर्माण प्रक्रिया अघि बढाइएको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोट, हेल्विटास नेपाल र तारकेश्वर गाउँपालिकाको सहकार्य तथा समन्वयमा तारकेश्वर गाउँपालिकाले तारुकाघाटमा त्रिशूली नदी वारपार गर्ने झोलुङ्गे पुल निर्माणको प्रक्रिया सुरु गरेको हो।
पुल निर्माणका लागि सम्बन्धित स्थानमा प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी पुल निर्माणको सम्भाव्यता, भौगोलिक अवस्था तथा वातावरणीय पक्षको अध्ययन गरेको छ। सोही अवसरमा स्थानीय जनप्रतिनिधि, प्राविधिक विशेषज्ञ तथा गाउँपालिकाका प्रतिनिधिबीच पुल निर्माणको योजना, डिजाइन, लागत अनुमान तथा आगामी कार्ययोजनाका विषयमा छलफलसमेत भएको नेपाल रेडक्रस सोसाइटी नुवाकोटका जिल्ला सभापति हरि श्रेष्ठले जानकारी दिनुभयो।
भदौ १० गतेको भोटेकोशी बाढीले यस क्षेत्रको पुल बगाएपछि स्थानीयवासीलाई दैनिक रूपमा नदी वारपार गर्न कठिनाइ हुँदै आएको थियो। विशेषगरी विद्यार्थी, किसान तथा अत्यावश्यक कामका लागि आवतजावत गर्ने स्थानीय प्रभावित हुँदै आएका थिए।
तारुकाघाटमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई त्रिशूली नदी वारपार गर्न सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ। पुलले स्थानीय कृषि उपजलाई बजारसम्म पुर्याउन सहज बनाउनुका साथै दैनिक आवतजावतमा समेत थप सुविधा पुग्ने विश्वास गरिएको छ।
भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत सामग्रीसहित प्रतिपरिवार १० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरिसकेको छ। प्रभावित परिवारको पुनर्स्थापनाका लागि आवास निर्माणतर्फ पनि सरकारसँगको सहकार्यमा आवश्यक योजना तथा खाका तयार गर्ने काम अघि बढिरहेको रेडक्रसले जनाएको छ।
बाढीपछि उद्धार, राहत, पुनर्वास तथा पुनर्निर्माणका क्षेत्रमा नेपाल रेडक्रससहित विभिन्न संघसंस्थाले गरेको सहयोगले प्रभावित क्षेत्रका बासिन्दाको दैनिकी क्रमशः सहज बन्दै गएको छ। तारुकाघाटमा झोलुङ्गे पुल निर्माणको प्रक्रिया अघि बढ्नु पनि बाढी प्रभावित समुदायको पुनर्निर्माण र पुनर्स्थापनातर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्