नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटको जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुट्ने सम्भावना न्यून देखिएपछि निर्वाचनमार्फत नेतृत्व टुंगो लगाउने तयारी भएको छ। अधिवेशन भोलिबाट सुरु हुने र अध्यक्ष पदका लागि पर्सि १८ गते मतदान हुने पक्का भएको राप्रपा स्रोतले जनाएको छ।
हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राप्रपा नुवाकोटको यसपटकको जिल्ला अधिवेशन सहमतिभन्दा पनि लोकतान्त्रिक तथा प्रजातान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन हुने देखिएको कार्यकर्ताहरू बताउँछन्।
जिल्ला अध्यक्ष पदका लागि कुलबहादुर खड्गी र विमल थापाबीच प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन समितिका अनुसार जिल्ला अधिवेशनमा कुल २३८ मतदाता रहनेछन्।
मतदातामा १० पालिका सभापति, ८८ वडा सभापति, प्रदेशसभा क्षेत्रअन्तर्गतका २१ जना कार्यसमिति सदस्य, सोहीअनुसार क्षेत्रीय कार्यसमितिका प्रतिनिधि, प्रदेशसभा कार्यसमितिका बाट २१ जनाका दरले दुई क्षेत्र तथा दुई नगरपालिकाबाट ५/५ जनाका दरले १० जना प्रतिनिधि सहभागी हुने व्यवस्था रहेको बताइएको छ।
अध्यक्षका उम्मेदवार कुलबहादुर खड्गी यसअघि दुई कार्यकाल जिल्ला नेतृत्व सम्हालिसकेका छन्। उनी विदुर नगरपालिका–१ त्रिशूली निवासी हुन्। यसपटक भने क्षेत्र नं. १ अन्तर्गत छहरे निवासी विमल थापा बलियो प्रतिस्पर्धीका रूपमा देखिएको राप्रपाभित्र चर्चा छ।थापा राप्रपाका संस्थापक सदस्य हुन । उनी जिल्ला भित्र शालिन नेतामा पर्दछन् ।
यसैबीच, भोटेकोशी बाढीबाट खड्गीसमेत प्रभावित भएको बताइएको छ। व्यक्तिगत तथा संगठनात्मक प्रभावका कारण खड्कीको पक्षमा पनि बलियो मत रहेको समर्थकहरूको दाबी छ। खड्की राप्रपा स्थापनादेखि नै सक्रिय छन् ।
राप्रपा स्रोतका अनुसार अन्तिम समयसम्म सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भए पनि दुवै पक्षबीच सहमति जुट्ने सम्भावना न्यून रहेकाले निर्वाचन हुने सम्भावना बढेको हो। त्यसैले यसपटकको अधिवेशनलाई नुवाकोट राप्रपाको आगामी राजनीतिक दिशा र संगठनात्मक प्रभावका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ।
निर्वाचनबाट निर्वाचित हुने नयाँ जिल्ला कार्यसमितिलाई राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमसमेत तय गरिएको स्रोतले जनाएको छ।
अध्यक्ष पदमा खड्की र थापाबीच हुने प्रतिस्पर्धाले राप्रपा नुवाकोटको संगठनमा कसको प्रभाव बलियो छ भन्ने टुंगो लगाउने भएकाले अधिवेशनलाई जिल्लाभर चासोका साथ हेरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्