
विदुर । नुवाकोट जिल्लाको दोस्रो नगरपालिका बेलकोटगढी नगर पालिकामा निर्वाचित जनप्रतिनिधिले आफूले घोषणा गरेको पहिलो कार्यक्रम अनुसार नगरपालिकाभित्र एम्बुलेन्स खरिद गरेर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन् । बेलकोटगढी नगरपालिकाको नव निर्वाचित कार्यपालिका बैठकको पहिलो निर्णय बमोजिमको एम्बुलेन्सल खरिद गर्ने निर्णय भएको थियो ।
सोही निर्णय अनुसार नगरपालिकाका मेयर जगत लमा उपमेयर शिव दाहालको कार्यकाल सुरु भएको डेड वर्षपछि निर्णय कार्यान्वयन भएको छ । सो निर्णय अनुसार हिजो मंगलबार बेलकोटगढी नगरपालिका वडा नं ३ को कुमरी स्वास्थ्य चौकी, वडा नं ६ दुइपिपल स्वास्थ्य चौकी , वडा नं ११ को बेलकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच मेयर लामाले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख कर्मचारी लगायतको सहभागितामा रहेको थियो ।

एम्बुलेन्सले संचालन कार्यविधिमा व्यवस्था भए बमोजिम तोकिएका वर्गलाई निः शुल्क सेवा समेत उपलब्ध गराउने मेयर लामाले प्रतिवद्धता जनाउनु भएको छ । उहाले नगरपालिकाभित्रका नागरिकलाईसहज रुपमा एम्बुलेन्स सेवा प्रवाह गर्ने बताउँदै अन्य स्थानमा पनि आवश्यक परे सरकारी दररेट अनुसार उपलब्ध गराउन सकिने बताउनुभएको छ । नगरपालिकाले स्वास्थ्य मन्त्रालय एम्बुलेन्स खरिदको नियम अनुसार सार्वजनिक रुपमा कोटेशन आह्रवान गरेर तीन वटा एम्बुलेन्स खरिद गरेको जनाइएको छ । सामान्य रुपमा रहेको एम्बुलेन्सलाई आवश्यक पर्ने अन्य उपकरण जडान गरि सञ्चादन गरिन जनाइएको छ । नगरपालिकाभित्र सरकारी स्तरबाट एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याइएको यो नै पहिलो हो । जसका कारण अब सर्वसाधारणले आवश्यक समयमा सहज र सस्तो रुपमा एम्बुलेन्स पाउने नगरपालिकाले विश्वास लिएको छ ।