काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न तराई क्षेत्रमा अत्यधिक गर्मी तथा तातो हावाको लहर (हीट वेभ) को सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले २०८३ जेठ ८ गते साँझ जारी गरेको विशेष बुलेटिनअनुसार जेठ ९ गतेदेखि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्ला उच्च जोखिममा रहेका छन् भने कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेल्धुरा र बैतडी जिल्लामा पनि गर्मीको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ ।
अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्राधिकरणले दिउँसोको समयमा सकेसम्म घरभित्र बस्न, बाहिर निस्कँदा छाता वा पातलो कपडाले टाउको ढाक्न, हल्का र सूती कपडा लगाउन तथा प्रशस्त पानी पिउन सुझाव दिएको छ । यस्तै, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई विशेष ध्यान दिन पनि आग्रह गरिएको छ ।
गर्मीका कारण टाउको दुख्ने, चक्कर आउने, शरीर कमजोर हुने, अत्यधिक तिर्खा लाग्ने, बेहोस हुनेजस्ता समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्