काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताउनुभएको छ ।
२० औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएकाले सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो ।
परम्परादेखि नै विभिन्न चाडपर्व, जात्रा एवं संस्कारहरूको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु राष्ट्रको दायित्व भएको भन्दै प्रधानमन्त्री प्रचण्डले भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको विशेषता र सामाजिक बनोटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारका निम्ति सरकारको तर्फबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट काठमाडौँ उपत्यकाभित्रका र बाहिर रहेका ज्यापुहरूबिच मात्र नभई विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकहरूबिच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्न प्रधानमन्त्री प्रचण्डले विश्वास समेते व्यक्त गर्नुभयो ।