विदुर । नेपाली कांग्रेस बेलकोटगढी नगर कार्यसमितिले पार्टीका तर्फबाट निर्वाचित उपमेयर शिव दाहाल र व्यवसायीबीच भएको सम्वादसँग जोडेर सामाजिक सञ्जालमा आएका विषयमा पार्टीको धारणा सार्वजनिक गरेको छ । नगरसभापति लेखनाथ मुडभरीले शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै सामाजिक सञ्जालमा आएका विषषलाई लिएर पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा उक्त घटना सिंगो कांग्रेसलाई बदनाम गर्ने प्रयासस्वरुप भएको भन्दै आपत्ति जनाएको छ ।
सभापति मुडभरीले जारी गर्नुभएको विज्ञप्तिमा जनप्रतिनिधि राजनीतिक व्यक्ति भएको र व्यवसायी, आम नागरिक समाजका सदस्य भएको हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष, भर्चुअल रुपमा कुराकानी हुनु स्वभाविक भएको दावी गरिएको छ । साथै यसले व्यक्तिगत रुपमा चरित्र हत्यासँगै सम्बन्धित पार्टीको बद्नाम गर्न खोजिएको त हैन भन्ने आशंका बढेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । उपमेयर दाहालसहित जनप्रतिनिधिहरुले आफूहरुले कोही कसैसँग कुनै प्रकारको लेनदेनका विषयमा कुरा नगरेको भन्दै प्रेस विज्ञप्ति मार्फत सार्वजनिक रुपमा जानकारी गराइसकेको अवस्थामा यसलाई थप प्रतिशोधपूर्ण रुपमा अघि बढाउन खोजिएकोमा पनि विज्ञप्तिमार्फत शंका व्यक्त गरिएको छ ।
नेपाली कांग्रेस पार्टी सँधै विधि र पद्धतीमा विश्वास गर्ने पार्टी रहेको भन्दै विज्ञप्ति मार्फत यसले भ्रष्टाचार र अनियमितताको कहिल्यै संरक्षण नगर्ने स्मरण गराइएको छ । कांग्रेसले तथ्य,प्रमाणविना र परिक्षण नभएका उडन्ते अडियोका नाममा चरित्रहत्या गर्ने क्रम नरोकिए यसका विरुद्ध कानुनी, सामाजिक वा राजनीतिक जस्तोसुकै लडाँइ लड्नु परेपनि नेपाली कांग्रेस तयार रहेको विज्ञप्ति मार्फत चेतावनी समेत दिएको छ ।

स्मरणीय छ केही समयअघि उपमेयर दाहालले एक उपभोक्ता समितिका अध्यक्ष तथा निर्माण व्यवसायीसँग ठेक्काको भुक्तानी दिने विषयमा कमिसन मागेको भन्दै अडियो सार्वजनिक गरिएको थियो । उक्त अडियो प्रकरणका विषयमा उपमेयर दाहालले आफूले कमिसन माग्ने अभिप्रेयल कुराकानी नगरेको भन्दै सार्वजनिक रुपमा नै प्रष्टिकरण दिएका थिए । तर उक्त काण्डका विषयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु नै गुटगत रुपमा दाहाललको बद्नाम गर्न लागेको भन्दै त्यसको प्रतिवाद समेत भएको थियो । उक्त विषयमा एमाले र माआवादीले पनि यस विषयमा कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरेका थिए । अडियो काण्ड आएको लामे समयपछि कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
