
६ असार, काठमाडौं । सत्तारुढ प्रमुख तीन दलबीच राजदूत नियुक्तिको विषयमा सहमति भएको छ । आज साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले हाल खाली रहेको ११ देशको राजदूत सिफारिस गर्ने विषयमा सहमति भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

२४ जेठमा मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो । स्रोतका अनुसार नेताहरुबीच एमालेले आठ देशको राजदूत पाउने समझदारी भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने शीर्ष नेता निकट स्रोतले बताएको छ ।राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत फिर्ता नभएकाले माओवादीलाई एक राजदुत मात्र दिइएको बताइएको छ ।