काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न सर्वसाधारणबाट राय तथा सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सूचना जारी गर्दै संविधानमा आवश्यक सुधार तथा संशोधनका विषयमा नागरिकका सुझाव संकलन गर्न आग्रह गरेको हो।
संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको बैठकले संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित सुझाव संकलन गर्ने निर्णय गरेको जनाएको छ।
सोही निर्णयअनुसार इच्छुक नागरिकलाई सात दिनभित्र आफ्नो सुझाव इमेल, फोन वा सचिवालयमार्फत पठाउन अनुरोध गरिएको छ। कार्यदलले प्राप्त सुझावलाई संविधान संशोधनसम्बन्धी बहसपत्रमा समेटिने जनाएको छ।
गत चैत १६ गते मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ गठन गरिएको थियो।
कार्यदलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुनसचिव, नेपाल कानुन आयोगका सचिव सदस्य तथा कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख सदस्यसचिव रहेका छन्।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्