काठमाडौं । नेपाल बार एसोसिएसन ले प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा समक्ष ३९ बुँदे ज्ञापनपत्र बुझाउँदै न्यायपालिकामा देखिएका विकृति अन्त्य गर्न ठोस कदम चाल्न आग्रह गरेको छ।
शुक्रबार बार अध्यक्ष डा. विजयप्रसाद मिश्र को नेतृत्वमा गएको टोलीले सर्वोच्च अदालतमा बाह्य हस्तक्षेप रोक्न, न्यायपालिकाको विश्वसनीयता कायम राख्न तथा अदालतको कामकारबाहीलाई थप पारदर्शी बनाउन ध्यानाकर्षण गराएको हो।
ज्ञापनपत्रमा अदालत सुधारका लागि पूर्वन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न माग गरिएको छ। साथै, पेसी व्यवस्थापन प्रणालीमा रहेको कमजोरीले अदालतप्रति नकारात्मक धारणा बढेको उल्लेख गर्दै पूर्ण स्वचालित प्रणाली लागू गर्नुपर्ने र गोलाप्रथा यथावत् राख्नुपर्ने धारणा बारले राखेको छ।
बारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सम्बन्ध मर्यादित र सन्तुलित हुनुपर्ने उल्लेख गर्दै अनावश्यक निकटता उचित नहुने जनाएको छ।
त्यस्तै, सर्वोच्च अदालतमा दर्ता हुन आएका निवेदन सोही दिन वा बढीमा भोलिपल्टसम्म दर्ता वा दरपिठ गरिसक्नुपर्ने माग गरिएको छ। दरपिठ भएका निवेदनमाथि सात दिनभित्र सुनुवाइको व्यवस्था गर्न तथा सेवाग्राहीलाई अनावश्यक रूपमा झुलाउने प्रवृत्तिको अन्त्य गर्न पनि बारले आग्रह गरेको छ।



नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्