विदुर । नुवाकोट प्रहरीले सवारी ठक्करबाट एक वृद्धको मृत्यु भएको घटनामा संलग्न चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार २०८३ जेठ ९ गते दिउँसो करिब ३ः३० बजे बेलकोटगढी नगरपालिका–१ भन्ज्याङस्थित सडकमा पैदलयात्री ६५ वर्षीय कृष्णबहादुर तामाङलाई सवारी साधनले ठक्कर दिएको थियो। ठक्करपछि चालक सवारीसाधनसहित फरार भएका थिए।
घटनामा गम्भीर घाइते भएका तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी टोली खटिई मुचुल्कालगायत आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि त्रिशूली अस्पताल पठाइएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा बेलकोटगढी नगरपालिका–१ भन्ज्याङ बस्ने ४३ वर्षीय भीमबहादुर तामाङले चलाएको बा २ क २०२० नम्बरको आइचर गाडीले ठक्कर दिएको खुलेपछि प्रहरीले चालकलाई सवारीसाधनसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका तामाङमाथि सवारी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्