काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देखिएको हिंसात्मक घटनाबारे आयोजक पक्षमाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले प्रदर्शन शान्तिपूर्ण रहने प्रतिबद्धता गरिए पनि अन्ततः अवस्था नियन्त्रण बाहिर गएको निष्कर्ष निकालेको हो।
आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आयोजकहरूले जिल्ला प्रशासन कार्यालयबाट शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्ने अनुमति लिएका थिए। तर प्रदर्शनका क्रममा तोडफोड तथा हिंसात्मक गतिविधि भएपछि त्यसलाई नियन्त्रण गर्न आयोजकहरू प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आयोगको ठहर छ।
प्रतिवेदनमा ‘हामी नेपाल’ संस्थाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङसहित पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल र खेमराज साउडको भूमिकामाथि थप अध्ययन आवश्यक रहेको उल्लेख गरिएको छ। आयोगले आन्दोलनमा बाह्य घुसपैठ भएको सम्भावना र त्यसलाई रोक्न आयोजकहरूले पर्याप्त सावधानी नअपनाएको विषयलाई पनि गम्भीर रूपमा उठाएको छ।
आयोगका अनुसार प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिमा कमजोर व्यवस्थापन र सुरक्षा समन्वयको कमी पनि जिम्मेवार देखिएको छ। यस्ता घटनाको वास्तविकता पत्ता लगाउन तथा आगामी प्रदर्शनहरूलाई थप जिम्मेवार र व्यवस्थित बनाउन सम्बन्धित व्यक्तिमाथि सूक्ष्म अनुसन्धान आवश्यक रहेको आयोगको भनाइ छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्