नुवाकोट । जिल्लाकाे दुप्चेश्वर गाउँपालिका र मानवसेवा आश्रमको सहकार्यमा नुवाकोट जिल्लामै पहिलो पटक दुप्चेश्वर गाउँपालिकालाई “सडक मानवमुक्त गाउँपालिका” घोषणा गरिएको छ।
मंगलबार जेठ २६ गते गाउँपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष श्री रामजी अधिकारीको प्रमुख उपस्थितिमा उक्त घोषणा गरिएको हो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ,शंकर थापासहित जनप्रतिनिधि कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
सडकमा कष्टकर जीवन बिताइरहेका असहाय, बेवारिसे तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूको उद्धार, संरक्षण र पुनर्स्थापनाका लागि गाउँपालिका र मानवसेवा आश्रमले संयुक्त रूपमा सञ्चालन गरेका प्रयासहरूको सफल परिणामस्वरूप यो ऐतिहासिक उपलब्धि हासिल भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले मानवता, सेवा र सामाजिक उत्तरदायित्वको महत्वबारे प्रेरणादायी तथा सकारात्मक सन्देश प्रवाह गर्नुभयो। उहाँले समाजमा कोही पनि व्यक्ति सडकमा बस्न बाध्य नहोस् भन्ने उद्देश्यका साथ सबै तह र समुदायको सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शंकर थापाले सडक मानवमुक्त घोषणा प्राप्त गर्नु केवल प्रशासनिक उपलब्धि मात्र नभई मानवीय संवेदना, सामाजिक न्याय र सभ्य समाज निर्माणतर्फको महत्वपूर्ण कदमका भएको बताउनुभयाे ।
कार्यक्रममा सहभागी वक्ताहरूले दुप्चेश्वर गाउँपालिकाको यो पहललाई अनुकरणीय कार्यको रूपमा प्रशंसा गर्दै आगामी दिनमा समेत मानव कल्याणका यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
यस अभियानले अन्य स्थानीय तहहरूलाई समेत मानव सेवाको क्षेत्रमा प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्