काठमाडौं — नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता वितरणका लागि स्थानअनुसार फरक–फरक समयसीमा निर्धारण गरेको छ।
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो। समितिले अनलाइनमार्फत प्रविष्ट भएका क्रियाशील सदस्यता फारामहरू वडा तहबाट आगामी असार ५ गतेभित्र अनुमोदन गरिसक्न निर्देशन दिएको छ।
इन्टरनेटको पहुँच न्यून रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी क्षेत्रका केही पालिका तथा सदस्यता अद्यावधिकमा ढिलाइ भएका बारा र खोटाङ जिल्लाका लागि भने क्रियाशील सदस्यता अद्यावधिकको समयसीमा २०८३ असार ७ गतेसम्म कायम गरिएको छ।
त्यस्तै, नेपाली कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयसीमा २०८३ असार १० गतेसम्म तोकिएको छ। क्रियाशील सदस्यता फाराम तथा अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरणको कार्य भने २०८३ असार २० गतेसम्म सञ्चालन हुने समितिले जनाएको छ।
समितिका अनुसार हालसम्म वडा तहमा अनुमोदन प्रक्रियामा रहेका सहित ६ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको छ। तीमध्ये ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी (NCID) प्राप्त गरिसकेका छन्।
यस्तै, १ लाख ४९ हजार ३०९ क्रियाशील सदस्यहरूले पेश गरेका स्वयं अद्यावधिक फाराम डिजिटल प्रणालीमा प्रविष्ट भई वडा तहबाट प्रमाणीकरण तथा अद्यावधिकको प्रक्रियामा रहेका छन्। कांग्रेसले सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन डिजिटल प्रणालीमार्फत अद्यावधिक अभियानलाई तीव्रता दिएको जनाएको छ।



नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्