विराटनगर, जेठ ३१ — नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आन्तरिक एकता, संगठन सुदृढीकरण तथा साझा राजनीतिक प्रतिबद्धतालाई थप मजबुत बनाउने उद्देश्यले आज विराटनगरस्थित होटल मनास्लु मा कोशी प्रदेशस्तरीय भेला आयोजना हुँदैछ।
“बृहत् एकता, साझा प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजना गरिएको भेलामा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
भेलामा पार्टीका प्रभावशाली नेताहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, एन.पी. साउद तथा राजीव कोइराला ले समसामयिक राजनीतिक विषय, पार्टी संगठनको सुदृढीकरण र आगामी रणनीतिबारे धारणा राख्ने कार्यक्रम रहेको छ।
आज बिहान ११ बजेदेखि सुरु हुने उक्त भेलामा कोशी प्रदेशका विभिन्न जिल्ला तथा क्षेत्रबाट कांग्रेस नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
भेलालाई कांग्रेसभित्रको एकता, सहकार्य र साझा उद्देश्यप्रतिको प्रतिबद्धता अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
“तपाईंको उपस्थिति, कांग्रेसको शक्ति” भन्ने सन्देशसहित आयोजकले सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्