काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको अभिव्यक्तिमा संयमता अपनाउन र उनीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शर्माले पछिल्ला दिनहरूमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूबाट आएका अभिव्यक्तिले समाजमा नकारात्मक सन्देश गएको टिप्पणी गरेका हुन्। उनले हालै सुनिल लम्सालले ठेकेदारको “खुट्टा भाँच्न” निर्देशन दिएको भनिएको अभिव्यक्तिको प्रसंग उल्लेख गर्दै यस प्रकारका भाषाले समाजलाई गलत दिशातर्फ लैजान सक्ने बताएका छन्। उनले भनेका छन्, चाेरले चाेर्याे भने दुुई हात काट्ने कि अरु सजाँय दिने ?
शर्माले केही दिनयता समाजमा देखिएका विभिन्न घटनाहरू पनि स्मरण गराएका छन्। उनले सिराहामा एक विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटना तथा एक महिलाको जीविकोपार्जनको आधार बनेको टेम्पो भिरबाट खसालिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै यस्ता गतिविधिले समाजको प्रवृत्ति कता जाँदैछ भन्ने गम्भीर प्रश्न उठाएको बताएका छन्।
उनले निर्वाचन अभियानका क्रममा प्रधानमन्त्रीले ठेकेदारलाई “रुखमा बाँधेर भए पनि विकास गर्ने” भन्ने आशयको अभिव्यक्ति दिएको प्रसंग पनि स्मरण गराएका छन्। शर्माले नेतृत्व तहबाट आउने यस्ता आक्रामक अभिव्यक्तिले समाजमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरेका छन्।
“मन्त्रीहरूका बोलीमा लगाम लगाउनुस् प्रधानमन्त्रीज्यू। सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूका शब्दले समाजलाई दिशानिर्देश गर्ने भएकाले संयमित अभिव्यक्ति आवश्यक छ,” भन्दै शर्माले प्रश्न गरेका छन्, “यस्ता विषयले समाज कता जान्छ प्रधानमन्त्रीज्यू?”
शर्माको भनाइ सार्वजनिक भएपछि राजनीतिक वृत्तमा सार्वजनिक अभिव्यक्तिको मर्यादा र त्यसले समाजमा पार्ने प्रभावबारे बहस सुरु भएको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्