पत्रकार महासंघको आन्दोलनप्रति पापडको ऐक्यबद्धता

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ३, बुधबार १९:२६

काठमाडौं, असार ३ – शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले नागरिक अधिकार खुम्च्याउने तथा प्रेस, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि अंकुश लगाउने सरकारी प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल पत्रकार महासंघले आयोजना गरेको विरोध र्‍यालीलाई ऐक्यबद्धता जनाएको छ।


बुधबार जारी संयुक्त विज्ञप्तिमार्फत पापडले पछिल्लो समय मुलुकमा विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन तथा नागरिक अधिकारमाथि चुनौती सिर्जना गरेको जनाएको हो।


पापडले संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, नागरिक अधिकारको संरक्षण तथा शक्तिको सन्तुलित प्रयोग लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मान्यता भएको उल्लेख गर्दै वर्तमान शासन सञ्चालनको शैलीले ती मूल्यहरूलाई संस्थागत रूपमा कमजोर बनाउने खतरा बढेको जनाएको छ।


विज्ञप्तिमा सुकुम्बासी बस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रतामा हस्तक्षेप हुने खालका गतिविधि, संसद्को भूमिका कमजोर बनाउने प्रयास, सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गर्ने अभ्यास, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि अंकुश लगाउने कदम तथा संविधानप्रदत्त पेशागत र ट्रेड युनियन अधिकारमाथि नियन्त्रणमुखी व्यवहारप्रति आपत्ति जनाइएको छ।


त्यस्तै विश्वविद्यालयहरूको स्वायत्तता कमजोर बनाउने प्रयास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नीतिगत अस्पष्टता र उदासीनता तथा आमनागरिकको जीविका, रोजगारी, व्यवसाय र सम्मानजनक जीवनयापनमा प्रतिकूल असर पार्ने गतिविधिहरूप्रति पनि पापडले विरोध जनाएको छ।


पापडले सरकारलाई संविधानको अक्षर र भावना, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन, नागरिक सर्वोच्चता तथा लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, न्यायपालिकाको स्वतन्त्रता र नागरिक अधिकारको संरक्षण गर्न आग्रह गरेको छ।


लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्ति, पेशागत संगठन, सञ्चार क्षेत्र, शैक्षिक समुदाय तथा नागरिक समाजलाई एकजुट हुन आह्वान गर्दै पापडले नेपाल पत्रकार महासंघले असार ५ गते दिउँसो ४ बजे काठमाडौंको माइतीघर मण्डलामा आयोजना गर्ने विरोध र्‍यालीमा सहभागी हुन सबैलाई आग्रह गरेको छ।


संयुक्त विज्ञप्तिमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्रि रिजाल, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा. रमेशकुमार जोशी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी तथा नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालको हस्ताक्षर रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *