काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसममा बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ। अन्य तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेशमा सामान्यतया बदली रहनेछ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
महाशाखाले वर्षा तथा चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्