पूर्णबहादुर खड्काद्वारा आज कांग्रेस संस्थापन इतर समूहको बैठक आह्वान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १९, शुक्रबार १०:००

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीभित्रको संस्थापन इतर समूहका नेताहरूको बैठक बोलाएका छन्। बैठक शुक्रबार दिउँसो २ बजे काठमाडौंको गल्फुटारस्थित खड्का निवासमा बस्ने तय भएको छ।

बैठकमा पूर्वपदाधिकारीसहित संस्थापन इतर धारका नेताहरू सहभागी हुने जनाइएको छ। प्रदेशस्तरमा हालै सम्पन्न भएका भेलाहरूको समीक्षा, संगठनात्मक गतिविधिको मूल्याङ्कन तथा आगामी राजनीतिक रणनीति तय गर्ने विषयमा छलफल केन्द्रित हुने स्रोतको भनाइ छ।


पार्टीभित्र संगठन सुदृढीकरण, क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे साझा धारणा बनाउने उद्देश्यले बैठक आयोजना गरिएको बताइएको छ।
क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएको खड्का नेतृत्वको समूहले असार १६ गते लुम्बिनीमा प्रदेशस्तरीय भेला सम्पन्न गर्दै आफ्नो अभियान टुंग्याएको थियो।


यसअघि बिहीबार पूर्वउपसभापति विमलेन्द्र निधिको पहलमा नेता डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच पनि भेटवार्ता भएको थियो। कांग्रेसभित्रको आन्तरिक राजनीतिक समीकरण र विकसित घटनाक्रमका बीच संस्थापन इतर नेताहरूबीच संवाद र परामर्शलाई निरन्तरता दिइएको रूपमा उक्त भेटलाई हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *