कांग्रेस संस्थापनइतर पक्ष राष्ट्रिय भेलाको तयारीमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १८, बिहीबार १६:२३

काठमाडौं ।नेपाली कांग्रेसको संस्थापन इतर पक्ष १५औँ महाधिवेशनलाई केन्द्रमा राख्दै राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। सातै प्रदेशका भेला सम्पन्न गरिसकेको इतर पक्षले अब राष्ट्रिय भेलामार्फत आगामी रणनीति तय गर्ने तयारी गरेको हो।

कांग्रेसका पूर्वपदाधिकारी तथा संस्थापन इतर पक्षका प्रमुख नेताहरूबीच बुधबार काठमाडौंको मध्यबानेश्वरस्थित नेता विमलेन्द्र निधिको निवासमा छलफल भएको पछि यस्तो निश्कर्ष निकालिएको बताइएको छ । छलफलमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइराला सहभागी थिए।

भेटमा राष्ट्रिय राजनीतिको समसामयिक अवस्था, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन तथा कांग्रेसको आन्तरिक राजनीतिबारे विस्तृत छलफल भएको नेतानिकट स्रोतले जनाएको छ।

छलफलका क्रममा रास्वपाको महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णयप्रति नेताहरूले चासो व्यक्त गरेका छन्। साथै कांग्रेसको १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्नेमा उनीहरूबीच साझा धारणा बनेको बताइएको छ।

छलफलमा संस्थापन पक्षले नियमित महाधिवेशनको पक्षमा रहेका नेताहरूलाई समेटेर अघि बढ्नुपर्ने तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अघि सारेको सहमतिको प्रस्तावलाई सकारात्मक रूपमा लिनुपर्ने विषयमा पनि कुराकानी भएको स्रोतले जनाएको छ।

इतर पक्षले चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरी महाधिवेशन केन्द्रित गतिविधि सञ्चालन गरिरहेको छ। सातै प्रदेशका भेला सम्पन्न भइसकेकाले अब राष्ट्रिय भेलाको तयारी थाल्ने निष्कर्ष बैठकले निकालेको सहभागी एक नेताले बताए।

स्रोतका अनुसार शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा शीर्ष नेताहरूको बैठक बस्नेछ। उक्त बैठकले राष्ट्रिय भेलाको मिति र आगामी कार्यक्रम तय गर्ने बताइएको छ।

विशेष महाधिवेशनपछि कांग्रेसमा देखिएको आन्तरिक विवाद अझै समाधान हुन सकेको छैन। नेताहरूबीच संवाद जारी रहे पनि ठोस सहमति नबन्दा १५औँ महाधिवेशनको तयारीले अपेक्षित गति लिन सकेको छैन। यसले पार्टीपंक्तिमा अन्योल, चिन्ता र निराशा बढाएको नेताहरूले स्वीकार गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *