अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर दबाब दिएको भन्ने विषयमा कांग्रेसद्वारा प्रधानमन्त्रीकाे जवाफ माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ४, बिहीबार १२:४८

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न दबाब दिइएको भन्ने आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले पत्रकार सीताराम बरालको फेसबुक लाइभमार्फत सार्वजनिक भएको विषय उठाउँदै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका हुन्।


सांसद केरुङले अख्तियारका प्रमुख तथा अन्य पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइएको र त्यसो नगरे कार्यालयभित्रै थुन्ने धम्की दिइएको भन्ने आरोप सार्वजनिक भएको उल्लेख गरे।


उनले भने, “संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर त्यहीँबाट पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइएको भन्ने कुरा बाहिरिएको छ। पक्राउ पुर्जी जारी नगरे प्रधानमन्त्री कार्यालयको कोठाभित्रै थुन्ने धम्की दिइएको भन्ने आरोप पनि सार्वजनिक भएको छ।”


केरुङले उक्त आरोप सत्य भएमा घटनाको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे। आरोप निराधार भए प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भई यसबारे स्पष्ट जानकारी गराउनुपर्ने उनको भनाइ थियो।


उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय भएकाले त्यसका आफ्नै संवैधानिक अधिकार र स्वतन्त्रता रहेको उल्लेख गर्दै त्यसमाथि कुनै प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताए।


कांग्रेसले सार्वजनिक रूपमा उठेको गम्भीर आरोपबारे सरकारको आधिकारिक धारणा आउनुपर्ने र आवश्यक परे संसदीय छानबिनमार्फत सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *