काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्। उनले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेको जानकारी दिएका हुन्।
महराले जारी गरेको विज्ञप्तिमा आफूले आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय गरेको उल्लेख गर्दै उक्त निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम भएको स्पष्ट पारेका छन्।
उनले केही वर्षयता एट्रोफी सम्बन्धी रोगबाट पीडित रहेको जानकारी दिँदै नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहेको बताए। उपचारका विभिन्न प्रयासका बाबजुद स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेपछि सक्रिय राजनीतिक जिम्मेवारीबाट अलग हुने निर्णय गर्नुपरेको उनले उल्लेख गरेका छन्।
महराले पार्टीप्रति आफ्नो प्रतिबद्धता यथावत् रहने जनाउँदै अब साधारण सदस्यका रूपमा पार्टी र आन्दोलनप्रति सहयोग र समर्थन जारी राख्ने बताएका छन्।
पूर्वसभामुख महराको यो निर्णयले नेपाली राजनीतिक वृत्तमा विशेष चासोको विषय बनेको छ। लामो समयदेखि वाम राजनीतिमा सक्रिय रहेका महराले विभिन्न महत्वपूर्ण राजनीतिक तथा संवैधानिक जिम्मेवारी सम्हालिसकेका छन्।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्