काठमाडौं । यस वर्षको मनसुन प्रणाली आजदेखि नेपालभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन आजबाट देशका सबै क्षेत्रमा सक्रिय भएको हो।
विभागका अनुसार यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो, जुन १९ मा नेपालको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको थियो। देशभर मनसुन विस्तार हुन भने १२ दिन लागेको छ।
मनसुन प्रवेशसँगै जुन १९ मा कोशी प्रदेशका केही क्षेत्रमा प्रभाव देखिएको थियो। त्यसपछि जुन २२ सम्म कोशी प्रदेशको बाँकी भू–भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म मनसुन विस्तार भएको थियो।
आजदेखि भने मनसुन प्रणाली देशका सबै प्रदेशमा फैलिएको विभागले जनाएको छ।
नेपालमा सामान्यतया मनसुन प्रत्येक वर्ष जुन १३ तारिखतिर पूर्वी नेपालबाट प्रवेश गर्ने र करिब एक साताभित्र देशभर फैलिने गर्छ। यस वर्ष भने प्रवेश र विस्तार दुवै प्रक्रिया सरदरभन्दा ढिलो भएको हो।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्