२४ जिल्लाका साना नदीमा आज आकस्मिक बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १२, मंगलवार १०:४७

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका २४ जिल्लाका साना नदी तथा खोल्सामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै स्थानीय बासिन्दा, यात्रु र नदीजन्य गतिविधिमा संलग्न सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।


बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर तथा आसपासका जिल्लाका साना नदी र खोल्सामा आज बहाव उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।


महाशाखाले आज बिहान गरिएको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्तीलगायत प्रमुख नदी र तिनका सहायक नदीहरूको जलसतह हाल सतर्कता तहभन्दा तल रहेको जनाएको छ। यद्यपि निरन्तर वर्षाका कारण ती नदीहरूको बहाव क्रमिक रूपमा बढ्न सक्ने अनुमान गरिएको छ।


यस्तै विभागले भोलि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही साना नदी तथा पर्सि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही नदीहरूमा पनि जलसतह एक्कासि बढ्न सक्ने जनाएको छ।


विभागले साना नदी, खोला र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक जोखिम नलिन तथा सम्भावित बाढीको अवस्थालाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *