– रामकृष्ण भट्ट
दुई फरक घटना। दुई फरक स्थान। दुई फरक समय। तर एउटा साझा सत्य—दुवै घटनामा एउटा परिवारले आफ्नो प्रिय सदस्य गुमायो। एउटा मृतकको खुट्टामा जुत्ता थियो, अर्कोको खुट्टामा चप्पल। तर मृत्युले न जुत्ता चिनेको थियो, न चप्पल। उसले केवल एउटा जीवन खोसेको थियो।
भदौ २३ गते राजधानीमा भएको जेनजी युवाहरूको आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भयो। त्यस घटनाले देशभर बहस जन्मायो। सरकारमाथि प्रश्न उठे, न्यायको माग चर्कियो, सामाजिक सञ्जालदेखि सडकसम्म आक्रोश देखियो। त्यो स्वाभाविक पनि थियो, किनकि एउटा नागरिकको ज्यान गएको थियो।
तर आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवाद हिंसात्मक बन्दै जाँदा सुरक्षाकर्मीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो। मेलाको विषय, डिजेको आवाज, झण्डाको विवाद र केही दिनदेखि बढ्दै आएको तनाव अन्ततः एउटा युवकको ज्यानमा टुंगियो। नौ जना सर्वसाधारण र सुरक्षाकर्मीतर्फ १३ जना घाइते भए। फेरि अर्को परिवार शोकमा डुब्यो।
तर यसपटक समाजको प्रतिक्रिया पहिले जस्तो देखिएन। आवाजहरू पातलिए। सामाजिक सञ्जालका न्यायका उद्घोषहरू कमजोर भए। सरकारलाई कठघरामा उभ्याउनेहरू धेरै मौन देखिए। आखिर किन?
के न्यायको मापदण्ड घटना हेरेर बदलिन्छ? कि मृतकको परिचय, पहिरन, समुदाय वा राजनीतिक सन्दर्भले हाम्रो संवेदनालाई निर्देशित गर्छ? यदि त्यसो हो भने हामी न्यायको होइन, पूर्वाग्रहको पक्षमा उभिएका छौँ।
सुनसरीको घटना केवल दुई समुदायबीचको झडप मात्र थिएन। यो प्रशासनिक असावधानीको पनि परिणाम थियो। चार दिनअघिदेखि विवाद भइरहेको जानकारी हुँदाहुँदै समयमै संवाद, समन्वय र सुरक्षा व्यवस्थापन प्रभावकारी हुन सकेन। संवेदनशील क्षेत्र भनेर चिनिएको स्थानमा विवाद चर्किँदै जाँदा त्यसलाई सामान्य रूपमा लिइयो। परिणामस्वरूप एउटा अमूल्य जीवन समाप्त भयो। त्यसैले यस घटनाको निष्पक्ष छानबिन हुनुपर्छ, प्रशासनिक कमजोरी भए त्यसको पनि जिम्मेवारी तय हुनुपर्छ र सुरक्षाकर्मीको बल प्रयोग आवश्यक थियो वा थिएन भन्ने प्रश्नको पनि पारदर्शी उत्तर आउनुपर्छ।

तर त्योभन्दा ठूलो प्रश्न हाम्रो समाजतर्फ पनि सोझिएको छ। हामी कहिले न्यायको पक्षमा उभिन्छौँ? जब मृतक हाम्रो विचारसँग मिल्छ? जब उसले जुत्ता लगाएको हुन्छ? जब घटना राजधानीमा हुन्छ? अनि गाउँको चप्पल लगाएको युवकको मृत्युले किन त्यति ठूलो प्रश्न उठाउँदैन?
संवेदना चयन गरेर बाँड्ने वस्तु होइन। मानव जीवनको मूल्य सबैका लागि बराबर हुनुपर्छ। राज्यको गोलीले ज्यान गुमाउने जोसुकै नागरिक भए पनि सत्य खोजिनुपर्छ, न्याय दिलाइनुपर्छ र जिम्मेवारलाई कानुनी दायरामा ल्याइनुपर्छ। यही नै लोकतन्त्रको आधार हो।
आज हामीले आफैँलाई एउटा प्रश्न सोध्नुपर्ने बेला आएको छ—हाम्रो आँसु मानिसको पीडाका लागि बग्छ कि उसको पहिचानका लागि? यदि हाम्रो संवेदना जुत्ता र चप्पलबीच विभाजित हुन्छ भने समस्या केवल घटनामा होइन, हाम्रो विवेकमा पनि छ।
मृत्युको मूल्य एउटै हुनुपर्छ। पीडाको भाषा एउटै हुनुपर्छ। न्यायको मापदण्ड पनि सबैका लागि समान हुनुपर्छ। किनकि जीवनको सम्मान बराबर नभएसम्म कुनै पनि समाज साँच्चै सभ्य कहलिन सक्दैन।( लेखक: नेपाल विद्यार्थी संघ नुवाकोटका अध्यक्ष हुन्)
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्